आइतवार, भाद्र ७ २०७७
नेपाल वाइड
लामीडाँडाका वृद्धालाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र गाउँपालिका अध्यक्ष लिलानाथ निरौला ।
तस्बिर सौजन्य: जिल्ला प्रशासन कार्यालय
कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा जिल्ला प्रशासन कार्यालय खोटाङले वृद्ध, अशक्त तथा अपांगता भएका चार व्यक्तीलाई घरैमा पुगेर नागरिकताको प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको हलिवन, भालुढुंगा र तिर्पाका वृद्ध, अशक्त तथा अपांगता भएका स्थानीयलाई शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेको हो ।
नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्दा हालसम्म नागरिकता बिहिन बसिरहेका ७४ वर्षीय बिबा माझी, ७१ वर्षीय फूलकुमारी माझी, ६८ वर्षीय खरा माझी र २२ वर्षका रेवत मगरलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष बिदुरकुमार खतिवडा र वडा सचिव टंकप्रसाद आचार्यको समन्वयमा उनीहरुलाई घरैमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

लामीडाँडाका वृद्धालाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र गाउँपालिका अध्यक्ष लिलानाथ निरौला ।
तस्बिर सौजन्य: जिल्ला प्रशासन कार्यालय
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेल र गाउँपालिका अध्यक्ष निरौलाले नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । अशक्तताको कारण हालसम्म नागरिकता पाउन नसकेका नागरिकलाई घरैमा नागरिकता प्रदान गर्न पाउँदा सेवा अवधिकै सबैभन्दा सन्तुष्टी मिलेको प्रजिअ पौडेलले प्रतिक्रिया दिनुभयो ।
वृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तीलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरिया, जिल्ला प्रशासन कार्यालयका नासु सिताराम आचार्य र खरिदार ओसनवाबु आचार्यलगायत लामीडाँडा, हलिवन, भालुढुंगा र तिर्पा पुगेका थिए ।