सोमवार, भाद्र ८ २०७७
नेपाल वाइड
शेखरकुमार श्रेष्ठ
श्रीराम राईको ‘मूल्यांकन’ लघुकथाको समाजशास्त्रीय अध्ययन
विषय परिचय
पत्रकारिता र साहित्य सिर्जनालाई जीवन सँगसँगै समान गतिमा अगाडि बढाउँदै लैजान सक्षम श्रीराम राई स्थापित लघुकथाकार हुन् । उनको जन्म विसं २०३६ वैशाख १५ गते खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी–७ मा भएको हो । उनका पिताको नाम बमबहादुर र माताको नाम चन्द्रकुमारी राई हो । उनको टोली नेता (२०७४) बालकथा संग्रह र आजका लघुकथा संयुक्त लेखन (२०७४) जस्ता कृति प्रकाशित छन् । उनको पहिलो प्रकाशित लघुकथा आश्वासन (२०५६) हो । यो युवामञ्च पत्रिकामा प्रकाशित छ । बालसाहित्य लेखन र बाल पत्रकारिताका माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्याएबापत उनले इडन ब्रिज एकेडेमी बालसाहित्य पत्रकारिता सम्मान–२०७६ प्राप्त गरेका छन् । यस लेखमा उनको २०७७ साल असार २७ गते नागरिक अनलाइन पत्रिकामा प्रकाशित ‘मूल्यांकन’ लघुकथाको समाजशास्त्रीय विश्लेषण गरिएको छ ।
सैद्धान्तिक आधार
साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने अन्तरविषयक पद्धति हो । यस परम्पराको थालनी इपिली तेनले गरेका हुन् । उनले साहित्यको अध्ययनका लागि प्रजाति, क्षण र वातावरणलाई सैद्धान्तिक आधार बनाएका छन् । अर्का विद्वान् एलन सिडउडलले सामाजिक संरचना, क्रिस्टोफर कडवेलले सामाजिक आर्थिक अवस्था र भाषा, लियो लावेन्थेलले समाज, रेमन्ड विलियस्सले अनुभूतिको संरचना र लुसियो गोल्डमानले साहित्यको समीक्षा गर्न विश्वदृष्टिलाई सैद्धान्तिक आधार बनाएका छन् । साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने उल्लिखित विद्वान्हरूबाट निर्दिष्ट विभिन्न आधारहरूमध्ये यहाँ प्रजाति, क्षण, युग र वातावरण, अनुभूतिको संरचना र विश्वदृष्टिलाई आधार मानी श्रीराम राईद्वारा लिखित ‘मूल्यांकन’ लघुकथाको अध्ययन विश्लेषण गरिएको छ ।
‘मूल्यांकन’ लघुकथामा प्रजाति
श्रीराम राईद्वारा लिखित ‘मूल्याकन’ लघुकथामा नित्या, रामानान्द, दूधे बालक (नानी) र स्कुल पढ्न जाने बाबु गरी चार पात्र छन् । यस कथामा यी चार पात्र एकै परिवारका छन् । त्यसैले यो कथा पारिवारिक विषयमा केन्द्रित छ । नित्या यस कथामा आमा, श्रीमती, भान्से र गृहिणी पात्रका रूपमा आएकी छ । रामानन्द बाबु, लोग्ने, जागिरे र पुरस्कृत हुने पात्रका रूपमा आएको छ । नानी दूधको अभाव भोगेकीले आमाको दूधको लाम्टा मात्र भए पनि चुसिरहने पात्रका रूपमा आएकी छ । यस घटनाअनुसार आमाले गेडागुडी, हरियोपरियो र फलफूल खान नपाएकाले नानीका लागि आवश्यक दूध आएको छैन । त्यसैले यस कथामा भोकलाई जित्न नसकेका कारण नानी सुत्न सकेकी छैन । नानीमा रहेको यही अभावका कारण आमा (नित्या) समेत रातभरि सुत्न पाउँदिन । यस स्थितिमा नित्या (पत्नी)ले रामानन्द (पति)लाई एकछिन निद्राको विष मार्न बच्चा डुलाउन भनेकी छ । तर रामानन्दले केको हल्ला हो यो ? कसैले नपाएकी छोरी तैँले मात्रै पाएकी छेस्’ भन्दै गाली गरेको छ । यस कथनले रामानन्दमा पुरुष प्रधान समाजको हैकमवादी प्रवृत्ति भएको पात्रका रूपमा आएको छ । यहाँनिर आउँदा बच्चाबच्ची जन्माएपछि हुर्काउने जिम्मा पनि नारीकै भएको अभिव्यक्त गर्ने पुरुष सत्ताको मानसिकता कथामा प्रस्तुत भएको छ तापनि यहाँ नित्या (पत्नी) ले कुनै प्रतिवाद गरेकी छैन । त्यसैले ऊ पुरुष प्रधान समाजबाट पीडित एवं सहनशील नारी पात्रका रूपमा आएकी छ ।
भोलिपल्ट नित्याले बनाएको चिया खाँदै रामनन्दले बालबालिकाको क्षेत्रमा काम गरेबापत आफ्नो सम्मान गरिने भएकाले बेलैमा पुग्न खाना तयार गर्न आदेश दिएको छ । उसको यस आदेशमा पनि पितृप्रधान समाजको मानसिकता बोलेको देखिन्छ । यसपटक भने नित्याले अहिले लुगा धोएर नसुकाए नसुक्ने भन्दै छोरालाई भोलि स्कुल जान लुगा नहुने कुरा एकातिर गरेकी छ भने अर्कातिर श्रीमान्ले भनेको बेलामा ड्राइपर नल्याइदिँदा नानीको लुगा थुप्रिन गएको जानकारी दिँदै खाना ढिलो हुनुमा लोग्नेको असहयोग रहेको कुरा अप्रत्यक्ष रूपमा बताएकी छ । यसरी बताउँदा पनि नित्यमा अझै विद्रोही भाव देखिएको छैन बरु परिस्थितिलाई अनुकूल बनाउन काम सकेपछि छिट्टै खाना पकाइहाल्ने कुरा उसले गरेकी छ । यसले परिवारभित्र पत्नीमा हुने सहयोगी भाव र आदर्शलाई प्रस्तुत गरेको छ । यसलाई अलि फरक कोणबाट हेर्ने हो भने यहाँ लोग्नेले काम अराउनेबित्तिकै श्रीमतीले नगरिहालेको प्रसंग देखिन पुगेको छ । यसले पुरुषको सहयोग प्राप्त गर्न नसक्दाको पीडा कथनका माध्यमबाट प्रकट भएको देखिन्छ । यसले प्रस्तुत सामाजिक घटनाबाट नै मनमा प्रभाव पर्ने कुरा देखिएको छ ।
प्रस्तुत लघुकथामा ‘रामानन्द गनगनाउँदै थिए, ‘न घाम लाग्छ न नानी सुत्छिन् । यस्तो जाडोमा बिहानभरि सुत्नु नि । के खान एकाबिहानै उठ्नुपरेको होला । यसो ढुक्कसँग काम गर्न पनि दिँदिन ।’ यस संवादले श्रीमतीको कुरा सुनेपछि श्रीमान्को रिस दूधे बच्चामाथि खनिएको कुरा अभिव्यक्त भएको छ । यसका साथै प्रस्तुत कथनले नारीलाई चाहिँ कुनै पनि काम गर्दा एकोहोरो र ढुक्कसँग गर्न नपाइने तर पुरुषले काम गर्दा अलिकति बिथोलियो भने रिस उठ्ने मानसिकता प्रस्तुत भएको छ ।
यसरी घटनाक्रम अगाडि बढ्दै जाँदा छोराले आमा र बाबु दुवैलाई नियालेको कुरा कथामा आएको छ । जाडोमा पनि आमाले चिसोको अनुभव नगरी लुगा धुन बाध्य भएको तर बाबु भने सिरकमा गुटमुटिएर ल्यापटप चलाउँदा पनि जाडो भएको कुरा यहाँ छोराले महसुस गरेको छ । कथामा आएको यस परिघटनाले परिवारमा आमा र बाबुको कामको मूल्यांकन सन्तानले गरेको कुरा देखाइएको छ । यसका साथै यहाँ बाबुले असहयोग गर्दा बच्चाको मनमा उत्पन्न मानसिक प्रतिक्रिया पनि आएको छ ।
यसै क्रममा बाबुले, ‘ए फुच्चे, आज तेरो बाबालाई सम्मान गर्दै छ ।’ ...बालबालिकाको क्षेत्रमा काम गरेबापत आज मलाई सम्मान गरिँदै छ भन्ने कथनमा बाबुले छोरालाई फुच्चे भनी सम्बोधन गरेको छ । एकातिर यस कथामा बालबालिकाको क्षेत्रमा काम गरेकाले सम्मान गर्न लागेको कुरा आएको छ भने अर्कातिर घरको बच्चालाई फुच्चे भनेर सम्बोधन गरेको छ । कथामा आएको यस प्रसंगले रामानन्द सम्मानका लागि देखावटी काम गर्ने व्यक्तिका रूपमा आएको छ । यस कथनको पछाडि ‘छोराले सम्मान भनेको के हो ?’ जान्न चाहेको छ । छोराको यस कथनले केटाकेटीमा जिज्ञासु प्रवृत्ति रहने कुरा आएको छ । छोराको यसै प्रश्नको जवाफमा बाबुले राम्रो काम गर्दा सम्मान पाएको भन्दै आफूले आफैमाथि गौरव गरेको छ । उसको यस गौरवमा आत्माभिमान वा उच्चताको भाव प्रकट छ । यसरी बाबुले आफूलाई ठूलो ठानिरहेको बेला छोराले बाबुलाई ‘आमाले यस्तो जाडोमा लुगा धुँदै हुनुहुन्छ । मलाई स्कुल जाने सबै कुरा तयार गरिदिनुहुन्छ । उहाँले चाहिँ कोबाट पाउनुहुन्छ हँ सम्मान ?’ भन्ने प्रश्न गरेको छ । कथामा आएको यस संवादले घरको काम गर्ने आमाले बाबुको सहयोग र सम्मान नपाएको कुरा खरो रूपमा प्रकट गरेको छ । यसले अरूबाट सम्मान र सहयोग खोज्नेले अरूलाई पनि सहयोग गर्नुपर्ने कुरा एकातिर अभिव्यक्त भएको छ भने अर्कातिर बाबु सम्मानका लागि योग्य नभएको कुरा पनि कथामा लक्षित विषय बनेर आएको छ । यसले बाबुको अहंमा धक्का दिएको छ । यसप्रकार प्रस्तुत कथामा पारिवारिक रथ सुविस्तासँग चलाउन श्रीमान् र श्रीमती एकअर्काको सहयोगी बन्नुपर्नेमा पुरुष प्रधान समाजका कारण महिलामाथि भएको अन्याय कथामा आएको छ । प्रस्तुत कथामा नारीले जतिसकै काम गरे पनि त्यसको मूल्यांकन नगर्ने पुरुष प्रधान समाजको वास्तविकता कथाले ओकलेको छ ।
‘मूल्यांकन’ लघुकथामा क्षण र वातावरण
श्रीराम राईद्वारा लिखित मूल्यांकन एक रात र एक बिहानको समय लिएर लेखिएको लघुकथा हो । यस कथाको घटना जाडो अर्थात् पुसमाघ महिनाको समयमा घटित भएको देखिन्छ । यस कथामा नित्या दुई बच्चाकी आमा हो । उसको जेठो छोरो पढ्न विद्यालय जान्छ भने सानी छोरी दूधे बालक हो । आमाले नै पौष्टिक तŒवयुक्त खानेकुरा खान नपाउँदा दूध आउँदैन । दूध खान नपाएकी छोरीले आमाको दूध चुस्न छाड्दिन । यसैका कारण नित्या आमा रातभरि सुत्न पाउँदिन । त्यस समय एकैछिन भए पनि आँखा लोलाउन ऊ लोग्नेको सहयोगको याचना गर्दछे तर सहयोग पाउँदिन । नित्या आफ्नो लोग्नेलाई सहयोग गर्न सधैं तत्पर रहे पनि लोग्नेले चाहिँ सहयोग गर्दैन । नित्या लोग्नेलाई खुवाइपियाइ गर्ने, बच्चा पढ्न पठाउन तयार गर्ने, सानो बच्चाको हेरविचार गर्नेदेखि लिएर घरको सम्पूर्ण काम गर्न विवश छे । यसको विपरीत लोग्ने भने अफिस गएर आएपछि माखो नमार्ने बरु कामका लागि श्रीमतीसँग कराएको छ । यस कथामा बालबालिकाको क्षेत्रमा राम्ररी काम गर्दा लोग्नेले सम्मान पाएको छ तर घरको काम राम्ररी गर्ने पत्नीलाई लोग्नेले सम्मान गर्न नसकेको पुरुषप्रधान समाजको दासत्व चेतनालाई कथाकारले वातावरणअन्तर्गत प्रस्तुत गरेका छन् ।
‘मूल्यांकन’ लघुकथामा विश्वदृष्टि
श्रीराम राईद्वारा लिखित मूल्यांकन लघुकथा बाहिर काम गर्ने पुरुष र घरभित्र काम गर्ने नारी दुई पात्रलाई आधार बनाई लेखिएको कथा हो । यस कथामा बाहिर काम गर्ने पुरुषले घरको काम नगरे पनि सम्मान पाएको छ । यसरी राम्रो कामको आधारमा सम्मान पाउने लोग्नेले नै पत्नीले गरेको कामको चाहिँ सम्मान गर्न नसकेको कुरालाई विश्वदृष्टि बनाई यो कथा लेखिएको छ । प्रस्तुत कथा पारिवारिक जीवनमा आधारित भए पनि यसले पुरुष प्रधान समाजमा देखिने पुरुष मानसिकता र नारीको दासत्वलाई चित्रण गरेको छ । यसका साथै नारीले गर्ने कामको मूल्यांकन गर्न नसक्ने समाज र देशप्रति पनि प्रस्तुत कथाले व्यंग्य गरी नारी र पुरुषका बीचमा रहने असमानता प्रस्तुत गरी विश्वदृष्टि निर्माण भएको छ । त्यसले विश्वदृष्टि निर्माणका आधारमा प्रस्तुत कथा सफल छ ।
‘मूल्यांकन’ लघुकथामा अनुभूतिको संरचना
श्रीराम राईद्वारा लिखित मूल्यांकन लघुकथा पुरुषप्रधान समाजको मनोवृत्ति प्रस्तुत गरी लेखिएको कथा हो । यस कथामा बाहिर दिनभर काम गरेर आएको पुरुषले घरको काम गर्न नपर्ने तर महिलाले एकछिन नसुस्स्ताई परिवार र घरको काम गर्दा पनि आराम गर्न समय नमिल्ने कुरालाई मनोविज्ञानको कोणबाट प्रस्तुत गरिएको छ । यस कथामा कथाकारले पुरुष (बाबु), महिला (आमा) र बच्चा(छोरा) गरी तीन पात्रको मनोविश्लेषण गरेका छन् । यस कथामा कथाकारले संवादका माध्यमबाट घटना प्रस्तुत गरी अन्तर्मनको समेत चित्रण गरेका छन् । यस कथामा पुरुषप्रधान समाजको दासता प्रस्तुत गरिएको छ । यसका साथै प्रस्तुत कथाले घरभित्र काम गर्नेको तुलनामा बाहिर काम गरी पैसा कमाउने व्यक्तिले नै आफूलाई महान् ठान्ने प्रवृत्ति पनि आएको छ । प्रस्तुत कथामा घरको मुलीले कामको सटीक मूल्यांकन नगरे पनि अरू (सन्तान)बाट मूल्यांकन हुने कुरा प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत कथामा कथाकारले पारिवारिक घटनालाई व्यञ्जनात्मक अर्थमा समाज र राष्ट्रसँग जोडी कथा लेखन गरेका छन् । यस कथामा पुरुष र नारीका मनोवृत्तिका साथै बालमस्तिष्कले गर्न सक्ने सटीक मनोमूल्यांकन प्रस्तुत भएको छ ।
निष्कर्ष
श्रीराम राईद्वारा लिखित मूल्यांकन लघुकथा पारिवारिक जीवनमा श्रीमान् र श्रीमतीबीच हुने सहयोग र असहयोग प्रस्तुत गरी लेखिएको कथा हो । यस कथामा पुरुष प्रधान समाजको दासीय मनोवृत्ति प्रस्तुत भएको छ । यस कथामा नारीले दिनरात भोक–निद्रा–तिर्खा, साह्रो–गाह्रो नभनी काम गरे पनि पुरुष सत्ताका कारण सहयोग नपाउने कुरा अभिव्यक्त भएको छ । यसरी प्रस्तुत कथामा कथाकारले पुरुष र नारीबीच रहेको काम र सोचलाई यस कथामा प्रस्तुत गरेका छन् । त्यसैगरी कथाकारले यस कथामा जाडो महिनाको समयमा घटना घटेको देखाएका छन् । यस कथामा एक रात र एक बिहानको समय आएको छ । यस कथामा प्रस्तुत घटना, समय र वातावरण सबै प्रतिनिधिमूलक छ । यस कथामा कथाकारले परिवारमा नारीले जतिसुकै काम गरे पनि जस नपाउने तर बाहिर काम गर्न जाने पुरुषलाई भने कामका आधारमा सम्मान मिल्ने कुरा गरी अर्थोपार्जन गर्न सक्नेको तुलनामा घरमा काम गर्ने व्यक्ति शोषणमा पर्ने कुरा व्यक्त भएको छ । त्यस्तै यस कथामा पुरुषको कामको तुलनामा नारीको काम बढी भए पनि कसैले सम्मान र सहयोग नगर्ने कुरा देखाइएको छ । यस कथाले नारीलाई सहनशीलताको प्रतिमूर्ति पनि बनाएको छ । यसका साथै प्रस्तुत कथाले पुरुष प्रधान समाजको पुरुषमा निहित उच्चता मनोग्रन्थ्रि प्रस्तुत गरेको छ । यसप्रकार प्रस्तुत कथा पारिवारिक विषयमा आधारित भए पनि यसले पुरुष प्रधान समाजमा नारीमथि हुने शोषण, नारीको सहनशीलता र पुरुषको दासमनोवृत्ति चित्रण गरेको छ । त्यसैले यो कथा परिवार, समाज र राष्ट्रको यथार्थ चित्रण गरिएको प्रतीकात्मक र मनोवैज्ञानिक लघुकथा हो ।