Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एसइईपछिको यात्रा

    एसइईपछिको यात्रा


    • मंगलवार, भाद्र ९ २०७७

    • नेपाल वाइड


    एसइईपछिको यात्रा

                                 निरजकुमार चौधरी

    एसइईपछिको यात्रा

           २०७१ सालमा मैले आफ्नो एसएलसि दिएको थिएँ जसलाई अहिले एसइई भनेर चिनिन्छ । नाम, उत्साहमा परिवर्तन भएपनि एसइई वा एसएलसिपछि दिने विद्यार्थीको समस्या आज पनि एकै छ । यस लेखमा मैले आफ्नो र म सँगका साथीहरुको अनुभव, सिकाइ, भोगाइलाई साट्न खोजेको छु । हुनसक्छ कतिलाई पढ्दा दिक्दारी लाग्न सक्छ, कतिलाई उपयोगी हुनसक्छ, कतिलाई फुर्सदको समय काट्नको लागि एउटा लेख हुन सक्छ ।
    आज एसएलसिको ५ वर्ष बितिसक्दा पनि अझै धेरै विद्यार्थीहरु कक्षा ११ र १२ मा फस्ने गर्छन्, कोहि गलत विषय रोज्छन, कोहि २/३ महिना विज्ञान संकाय पढिरहदा व्यवस्थापनतर्फ मोडिन्छन, कोहि ब्रिजकोर्सको हौवातर्फ लागेर २/३ महिनामा ३०–४० हजार पैसा र समयको नोक्सानी गर्छन् । यही सेरोफेरोमा रहेर यो लेख लेखेको हुँ । यसलाई मैले फ्रिक्वेन्ट्ली आक्स्ड क्वेस्चन (एफएक्यू) प्रश्नावली बनाएर पाठकको जिज्ञासा र मेरो र मसँगैको साथीहरूको अनुभवलाई उत्तर बनाएकोछु ।


    एसइईपछिको २/३ महिना के गर्ने ?

          यही विषयलाई लिएर धेरै विद्यार्थी र अभिभावक अलमलमा पर्छन् । र अहिलेको ब्रिजकोर्सको प्रवृत्तिमा लागेर काठमाडौं हानिन्छन् । जसको काठमाडौमै घर छ उसलाई यो ब्रिजकोर्स समग्रमा ठिकै होला । तर उपत्यका बाहिरका विद्यार्थीहरुलाई ब्रिजकोर्सको चक्करमा लाग्दा फाइदाभन्दा नोक्सान बढी छ । तपाइँहरुलाई प्लस–टुको प्रवेश परीक्षाको तयारी नै गर्नु छ भने छुट्टै किताब किनेर घरमै बसेर स्वअध्यय गर्नुस् । स्वअध्ययन पनि प्लस–टु स्कुल पढ्नका लागि पर्याप्त छ । ब्रिजकोर्स पढ्नकै निम्ति काठमाडौ जानु चाहिँ कुनै तरिकाले उचित देखिन्न । यो ३ महिनामै ब्रिजकोर्स पढ्ने विद्यार्थीहरुले थाहै न पाई होस्टल फि, ब्रिजकोर्स फि, कपिकिताब, ओढ्नेओछ्याउनेमा लगभग ४० देखि ६० हजार खर्च गर्छन् ।


    त्यसो भए यो ३ महिनाके गर्ने ?

          हामीले देखेको सबभन्दा उत्तम भनेको यो ३ महिनामा आफ्नो सीप विकास गर्नुस् र आफ्नो केटाकेटीको सीप विकास गराउनुस् । ब्रिजकोर्सको राम्रो विकल्प व्यापार व्यसाय, होटेल तालिम, कुकिङ, व्यूटीसियन तालिम आदि उपयुक्त विकल्प हुनसक्छ । यदि तपाईंको आमाबुबाको पसल छ भने कसरी समान बेच्ने, ग्राहक बनाउने, हिसाब राख्ने अथवा तपाईंको घरमा होटेल छ भने कसरी विभिन्न प्रकारको खाजानास्ता तयार गर्ने, पकाउने सिक्नुस् अथवा यदि यस्तो केहि छैन भने व्यूटीपार्लर, कम्प्यूटर सम्वन्धी तालिम लिनुस् । यसले जीवनकालमा कतै न कतै फाइदा अवस्य पुर्‍याउँछ ।


    इसइईपछि के पढ्ने ?

           अधिकांश विद्यार्थी यही विषयमा झुक्किन्छन् । द्विविधामा पर्छन् र गलत विषय रोज्न बाध्य हुन्छन् । कति उपयुक्त विषय रोज्न नसक्दा प्लस–टुमा केही महिनापछि अन्य विषय तर्फ मोडिन्छन् । कति साथीको लहैलहैमा गएर विषय रोज्छन् र आजीवन पछुतो मान्छन् । यो अंश यही विषयमा केन्द्रित छ । उसो भए कुन विषय रोज्दा, पढ्दा उपयुक्त होला त ? पहिलो कुरा प्लस–टुको लागि विषय रोज्ने नै होइन । प्लस–टुपछि पछि व्याचलरमा के पढ्ने, आफ्नो लक्ष्य के छ त्यो अनुरुप विषय रोज्ने हो ।
    तपाईको अहिले देखिको सपना व्यवस्थापन सम्वन्धी जस्तैः चाटर्ड एकाउन्टेन्ट, व्यैंक, स्कुल एकाउन्टेन्ट आदि छ भने निर्धक्क प्लस–टुमा एकाउण्ट विषय लिएर पढ्नुस् । त्यसैगरी तपाईलाई व्याचलरपछि डाक्टर, इन्जिनियर, विज्ञान शिक्षक, गणीत शिक्षक आदि बन्ने सोख वा सपना अहिले देखिनै छ र पछिसम्म यस्तै कुनै क्षेत्रमा जाने पक्का हुनुहुन्छ भने प्लस–टुमा विज्ञान विषय पढ्नुस् । यसै गरेर एजुकेसन, आर्ट, पोलिटिक्स, लिटरेचर आदिमा अहिले देखि नै लगाव छ र यही विधाबाट आफ्नो करिअर बनाउनु चाहनुहुन्छ भने यहि सम्बन्धि आर्ट, इजुकेसन लिएर पढ्नुस् ।
    तर यदि तपाईं कुन विषय पढ्ने, कुन विषय पढ्दा के हुन्छ ? कुनै बेला मेनेजमेन्ट त कुनै बेला विज्ञान पढौं जस्तो लाग्छ भने प्लस–टुमा विज्ञान रोज्नुस् । किनकि प्लस–टुमा मेनेजमेन्ट रोज्दा प्लस–टुपछि विज्ञानतिर वा अरु विधातिर जान सकिन्न । तर प्लस–टुमा विज्ञान लिएर पढ्दा प्लस–टुपछि व्याचलरमा सबै विधातिर मोडिन सक्नुहुन्छ । उदाहरणका लागि अहिले तपाई प्लस–टुमा विषय छनोटमा द्वुविधामा हुनुहुन्छ र मेनेजमेन्ट रोज्नु भयो तर १२ मा पुग्दा तपाईलाई मेडिकल वा इन्जिनियरिङतिर लगाव गयो । यस अवस्थामा तपाईसँग कुनै विकल्प रहन्न तर प्लस–टुमा विज्ञान लिएर पढ्दा तपाई प्लस–टुपछि सबै विषय पढ्न सक्नुहुन्छ मेडिकल, एमबिबिएस, बिडिएस, फार्मेसी, इन्जिनियरिङ, बिबिएस, बिबिए, बिए, बिएड, बिएसडव्लु आदि सबै ।
    त्यही भएर यदि तपाई पछि गएर एकाउण्टेण्ट वा बैंक क्षेत्रमा काम गर्छु वा चाटर्ड एकाउण्टेण्ट बन्छु जस्तो सपनामा अहिले नै पक्का हुनुहुन्छ भने निर्धक्क प्लस–टुमा मेनेजमेन्ट पढ्नुस् र पछि गएर मेडिकल, इन्जिनियरिङ फार्मेसी आदिमा आफ्नो भविष्य देख्नुहुन्छ भने प्लस–टुमा साइन्स पढ्नुहोस र अलमलमा पर्नुहुन्छ भने वा छुट्याउन सकिरहनुभएको छैन भने साइन्स रोज्नुहोस् । साथै विषय छनौट गर्दा शिक्षित बेरोजगारी, बजारमा जनशक्तिको किसिमको माग र आपूर्ति हेरेर पनि विषय रोज्न सक्दा अझ राम्रो हुन्छ । फेरि पनि प्लस–टुमा विषय छनोट गर्दा प्लस–टुको लागि नभएर प्लस–टुपछि के पढ्न चाहनुहुन्छ, तपाईको सपना के छ त्यो अनुरुप विषय छनौट गर्दा उचित होला । किनकि व्यावसायिक शिक्षा प्लस–टु (स्नातक)मा नभएर व्याचलर (स्नातकोत्तर)मा पाउने गर्छौ ।


    शिक्षित बेरोजगारी भनेको के हो ?

             आज भारतमा प्रतिवर्ष सरदर १६ लाख ईन्जिनियर जनशक्ति उत्पादन हुन्छ तर त्यो मध्ये ८० हजार मात्र भारतको माग हो । त्यसै गरि नेपालमा पनि स्टाफनर्सको मागभन्दा कैयौं गुणा आपूर्ति भइरहेको छ जसले गर्दा विद्यार्थीको समय अभिभावकको लगानीले सहि प्रतिफल दिइरहेका छैनन् । र शिक्षित बेरोजगारी बढिरहेको छ । आज जसरी हामी एमबिबिएस र इन्जिनियरतर्फ मोहित भएर समय र पैसा खर्च गर्छौ त्यसको आपूर्तिले मागलाई उच्छिन्ने छ र यहाँ पनि शिक्षित जनशक्ति बिक्न असमर्थ हुनेछ । सुन्दा आश्चर्य लाग्छ तर मिडियो एक्स–रे, सिटि स्क्यान गर्ने अपरेटर हामी भारतबाट आयात गरिरहेकाछौँ । अर्थात रोजगारीको प्रवल सम्भावना यस क्षेत्रतिर पनि प्रचुर छ । यस अर्थमा विषय रोज्दा यस्तो कुरामा पनि ध्यान दिएको राम्रो हुन्छ ।
    यसमै थप्न चाहन्छु अहिले जुन अनुसार सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ पढ्ने जमात छन् । त्यही अनुरुप जाने हो भने आउने केही वर्षमा यस क्षेत्रमा पनि माग र आपर्तिमा दूरदर्शी बनाउनुस् ।

    कहाँ प्लस–टु पढ्ने ?

           यसको जवाफ आफै खोजेको उत्तम होला तर मेरो बुझाइ के छ भने हामीले आफूसँग नभएको कुरा अरुसँग माग्नु पर्छ र आफूसग भएको श्रोत साधनको अधिकतम भन्दा अधिकतम प्रयोग गर्नसक्नुपर्छ । तात्पर्य बुझ्नुभयो होला । भन्नखोजेको के हो भने यहाँ हाम्रै खोटाङको दिक्तेलमा ३/४ वटा प्लस–टु स्कुलहरु छन् । जसले मेनेजमेन्टतिर निकै राम्रो नतिजा दिइरहेको छ । हो साइन्स अध्यापन गराउने प्लस–टु विद्यालय छैन र खोटाङ बाहिर जानु पर्ने बाध्यता छ । तर मेनेजमेन्ट पढ्नकैलागि काठमाडौं, बिराटनगर वा अन्त जानुमा कुनै ठोस तर्क देखिन्न । यसले अभिभावकमा व्ययभार थप्ने, अन्य समस्या थपिने आदि हुन्छ । सबैको बुझाइ के छ भने घरबाट टाढाको विद्यालय, कलेजमा राम्रो र उत्कृष्ट पढाइ हुन्छ तर सबै कुरा स्कुल, विद्यालयमा भर नपरेको राम्रो, आफ्नोतर्फबाट पनि स्वअध्यन, समय व्यवस्थापन आदि कुरा सिक्नुपर्छ जसले उच्च शिक्षामा महत्वपूर्ण मद्दत गर्छ । अर्को कुरा स्कूलसम्म पढिरहँदा शिक्षकको भूमिका ९० देखि १०० प्रतिशत नै हुन्छ र प्लस–टुमा पुगिसक्दा घटेर ६० देखि ८० प्रतिशतमा झर्छ भने स्नातकोत्तर अर्थात व्याचलरमा पुगिसक्दा ४० देखि ६० प्रतिशतमा पुग्छ । अर्थात् सबैकुरा शिक्षक, विद्यालयमै भर पर्छ भन्ने हुन्न । निष्कर्षमा मेनेजमेन्ट अध्यापन गर्न सकेसम्म आफ्नै पायक पर्ने ठाउँबाट गर्नुस् ।


    कस्तो प्लस–टु विद्यालयमां पढ्ने ?

           यो अंश विशेष गरेर उपत्यका भित्रीने (काठमाडौंजाने) विद्यार्थीहरुको लागि हो । काठमाडौमा वार्षिक ३० हजारदेखि लिएर १ लाख ५० हजारसम्मको कलेज पनि छ । तर पनि महँगो विद्यालयमै विद्यार्थीको चाप बढी हुन्छ । त्यही भएर मेरो व्यक्तिगत अनुभव के छ भने हामी विकट, दुरदराजको हामीलाई क्यान्टीन, बास्केटबल, मिनुकार्ड, सिसिटिभी, मार्वल फर्निस जस्ता कुरा निकै कम देखेको हुन्छौँ र यस्तो कुरा देख्ना साथ हावामा उड्छौ र काठमाडौको चहकमहकमा फसेर हुदैनहुने महङ्गो प्लस–टु विद्यालय रोज्न पुग्छौँ । अब जसले खाजामा मःम र चाउमिन बाहेक देखेकै छैन उसले एउटा विद्यालयमा क्यान्टीन (चमेना गृह) र त्यसमा पनि मिनु देख्ने हो त्यो विद्यार्थीको आकर्षण नै त्यस्तै विद्यालयप्रति हुन्छ । धेरै विद्यार्थी यस्तै कारणले महँगो कलेजमा गएर पढ्छन् र कतिलाई यी कुरापछि आर्थिक भार भएर आउछ । त्यही भएर सकेसम्म काठमाडौमा विद्यालय रोज्दा यस्तो कुरामा आकर्षित नहुनुबेस् । त्यही भएर मध्यम किसिमको विद्यालय रोज्नुस् जसमा सेवासुविधा अनावश्यक नहोस, अध्यापन, व्यवस्थापन समग्र औसत राम्रोहोस् । यसमै जोड्न चाहन्छु काठमाडौमा यस्ता दिग्गज विद्यालय पनि छन् जहाँ उसले तोकेकै ठाउँबाट एप्रोन, जुत्ता, मोजा, टाइपिन, व्याग, प्राक्टिकल फाइल, यूनीफर्म आदि किन्नुपर्ने हुन्छ । त्यस्ता विद्यालयबाट जोगिनुस्, यसले सजिलो र सुविधा पार्ने निहुँमा व्यापार र एकाधिकार जमाइ रहेका हुन्छन् ।


    काठमाडौं, बिराटनगरमा कसरी प्लस–टु विद्यालय छनौट गर्ने ?

             सबैको आ–आफ्नै राय हुन्छ र स्वभाविक पनि हो । तर मैले देखेँ अनुसार प्लस–टु विद्यालय, कलेजको चहकमहक र महँगो प्रचार–प्रसार, प्रस्पेक्ट्सको आधारमा रोज्नुकोसट्टा प्रत्येक इन्स्टीच्यूट अफ इन्जिनियरिङ (आइओई), मिनिस्ट्री अफ इजुकेसन (एमओई), इन्स्टीच्यूट अफ मेडिकल (आइओएम)को प्रत्येक वर्ष आउने प्रवेश परीक्षाको नतिजा हेरेर छनौट गर्दा उत्तम होला । किनकि प्लस–टुपछि अधिकांशको नयाँबाटो मेडिकल, इन्जियरिङ्ग नै हुन्छ । यो प्रवेश परीक्षाको नतिजा ती संस्थाको वेबसाइट वा नाम, पिइए, भाइब्रेण्ट आदि संस्थाको प्रस्पेक्ट्स, किताबबाट पनि पाउन सकिन्छ । जुन प्लस–टु स्कुलबाट धेरैले ईन्जिनियरिङ्, मेडिकल जस्तै एमबिबिएस, बिडिएसमा नाम निकालेका छन् । यस्तो विद्यालय प्राथामिकतामा राख्नुहोस् । यहीसँग यदि तपाई होस्टेल वा कोठा लिएर बस्नुहुन्छ, भने विद्यालय, कलेजको नजिक बस्नुस् । सकेसम्म वाकिङ डिस्टान्समा बस्नुस् । निकै सजिलो हुन्छ । कतिले साथीको लहैलहैमा होस्टेल, डेरा जावलाखेल, पढ्नुपर्ने विद्यालय पुतलीसडक । जसको आफ्नै घर छ, आफन्तकोमा बसेका छन् । उसलाई केही भएन तर जो होस्टेल, डेरामा बस्छन् उनीहरुलाई आउदाजाँदाको हैरानी, अनावश्यक यातायात खर्च, ट्राफिक जामको सास्ती हुने हुन्छ ।


    फेरि यो आइओई, एमओई, आइओएम भनेको के हो नी ?

         आइओई, एमओई, आइओएम भनेको नेपालको ईन्जिनियरिङ र मेडिकल सवन्धित संस्था हो । जसले सबै ईन्जिनियरिङ र मेडिकल क्यापसहरुलाई नियमन गर्छ । प्रत्येकवर्ष ईन्जिनियरिङ र मेडिकलको लागि प्रवेशिका परिक्षा लिने गर्छ र यसैको नतिजाको आधारमा कसले के पढ्ने, कहाँ पढ्ने, ईन्जिनियरिङ र मेडिकल पढ्दा छात्रवृत्ति पाउने नपाउने निक्र्याैल गरिन्छ ।
    तर यहाँ भन्न खोजेको के हो भने अहिले जसरी एसइई दिनासाथ काठमाडौ जाने ट्रेण्ड छ, त्यसैगरि १२ मा पढिरहँदा इन्ट्रान्स कोचिङ क्लास जस्तै पिइए, नेम, भाइब्रेन्ट, ओसन आदि जाने चलन छ । पढ्नुपर्छ, ज्ञान कहिल्यै खेर जान्न तर यहाँ समस्या अर्को थपिँदै छ जुन विद्यार्थी मुस्किलले आफ्नो प्लस–टुको इन्टर्नल परिक्षा पास गरिरहेछन्, वा फेल हुन्छन उनीहरू समेत प्रवेशिका परीक्षा कक्षा धाउँछन् । यो निकै गलत र अवस्था झन् नाजुक बनाउने मात्र हो । यस्तो प्रवृतिले न प्लस–टु राम्रोहुन्छ न १२ पछिको इन्ट्रान्स परिक्षा । त्यही भर पहिला एक ठाउँ बलियो हुनुस् र त्यसपछि अर्को ठाउँ आँखा लाउनुस् । साथीको लहैलहैमा, मँहगो प्रचार–प्रसारमा नफस्नुस् ।
    यही विषयमा अर्को कुरा जोड्न मन लाग्यो । यो इन्ट्रान्स क्लास पढ्न थालेपछि धेरैले आफ्नो निद्रा बिगार्छन, खाना खान भ्याउँदैनन्, स्वास्थ्य बिगार्छन् । त्यही भएर सबै हेरेर, अवस्थाको जाएजा गरेर काम गर्नुहोस् । कति साथीसंगतमा लागेर हतार गरेर कोचिङ क्लास भर्ना गर्छन् र हप्ता दुई दिन नहुदै कक्षा जान छोड्छन् । उता ३०/४० हजारको नोक्सानी त गर्छन् उता आफ्नो भएको पढाई पनि बिगार्छन् । त्यही भएर कलेजको पढाइको स्तर सन्तोषजनक छैन भने, कलेज, आफ्नोवास स्थान र कोचिङ क्लास पायक पर्ने ठाउँमा छैन भने यस्तो कक्षाबाट टाढै हुनुहोस् ।


    फोन तथा इन्टरनेको प्रयोग

          अहिले जति इन्टरनेट र स्मार्टफोनको फाइदा सुनिन्छ, त्योभन्दा बढी यसको नकारात्मक पक्ष छ । अहिले विभिन्न सर्वेक्षण, अनुसन्धानले लामो समयपछि आफ्नो रिपोर्टमा जनाए अनुसार नेपालको लगभग ६१ प्रतिशतभन्दा बढी स्कुले विद्यार्थी फेसबुक चलाउँछन् भने अहिले इन्टरनेट र स्मार्टफोनको कुलतले गर्दा विद्यार्थीको पढाईमा ५० प्रतिशतले ह्रास आएको देखाउँछ । अर्को अनुसन्धानले अहिले आम मानिसले २–३ घण्टा स्क्रिनमा अर्थात् फोन इन्टरनेटमा समय विताउँछन् । यसबाट हामी निष्कर्षमा पुग्न सक्छौं हाम्रो जीवन र पढाईमा कस्तो नकारात्मक असर पर्दैछ ।
    इन्टरनेटको कुलतबाट आफ्नै आमाबुवा, अभिभावकसँग बस्ने केटाकेटी जोगिन सकेकोछैन भने प्लस–टुपछि आफ्नो थातथलो, आमाबुवा, अभिभाबकबाट टाढा बस्ने विद्यार्थीहरू कसरी आफूलाई इन्टरनेटर स्मार्टफोनबाट टाढा राख्न सक्लान् त । त्यही भएर एसइईपछि आफूलाई यसको अनावश्यक प्रयोग र लतबाट जोगाउनु होला । अहिले होस्टेल, कोठाभाडामा बस्ने अधिकांस विद्यार्थीको पढाई बिग्रिने मुख्या कारण इन्टरनेट हो । चलाउनुस् तर फुर्सदमा हैन, काम पर्दा चलाउनुस् । फुर्सदमा चलाउँदा यसको बानी पर्छ र इन्टरनेट एडिक्सनबाट पीडित हुन्छौं । फेरि हाम्रो समाज के छ भने जाँड, रक्सी, चुरोटको कुलतमा फसेकालाई हामी एडिक्ट भनेर सम्बोधन गर्छौं तर आफू स्वयंलाई इन्टरनेट एडिक्ट भएको कुरा स्वीकार्न गाह्रो मान्छौं । होस्टेलको अनुभव के छ भने हामी कलेजबाट आउँथ्यौं एकछिन मोबाइल चलाउन भनेर कलेलजको पोशाक नफेरी मोबाईल चलाउथ्यौं, थाहै नपाइ खाना खाने समय भइसकेको हुने, यतिमै खाना खान दौडिन्थ्यौं र आउदा २ मिनेटकोलागि मोबाइल चलाउन भनेर हातमा लिन्थ्यौं, त्यो छोटो २ मिनेट रातको ११/१२ बजिसकेको हुन्थ्यो । न राम्रो निद्रा हुने न राम्रो पढाइ, मात्र एउटा फोनको गलत प्रयोगको कारणले । यस्तो बानीबाट आफूलाई जोगाउनुहोस् ।


    ए प्लस आउनासाथ साइन्स र बी आउनासाथ अरु विषय नरोज्नुस

           दशसम्म पढिरहँदा ३०० पानाको एउटै साइन्स किताबमा सबै फिजिक्स, केमिस्ट्री, बायोलोजी हुन्छ, आमाबुवा, विद्यालयको राम्रो निगरानीमा लगभग अधिकांसको ए प्लस, ए ल्याउन सफल भएका हुन्छन् । र त्यही माहोलको कारणले आफन्त, छिमेकी, नरनाता सबैले प्लस–टुमा विज्ञान नै पढ्न हौस्याउछन् । तर कुरा व्यक्तिको रुची र उत्साहले पनि भूमिका खेल्छ । घरको भान्सामा कति डामाडोल हुन्छ मरमसला एकापट्टि, सागसब्जी अर्कापट्टी, पानी तल तर पनि हामी एकैछिनमा खाना, खाजा पकाइसक्छौं, अर्कोतर्फ रुची नहुँदा एउटा सानो आफ्नै रुमाल धुन पनि धौधौ हुनेगर्छ । आफ्नो रुचि पनि हेर्नुहोस् एसइई ग्रेडतर्फ मात्र नभाग्नुस् । यहीँ सानो आमाबुवाको गल्तीले केटाकेटीले २/२ वर्ष सम्म बोझ लिएर कुण्ठित भएर इच्छा नहुँदै पनि पढ्ने गर्छन् र कतिपय २/३ महिना पछि अर्को संकायतर्फ मोडिन्छन्, कोही मेनेजमेन्टबाट साइन्स त कोही साइन्सबाट मेनेजमेन्ट । आफ्नो रुचि हेरेर पनि काम गर्नुस् । बोर्डिङ स्कूलबाट एसइई दिनेले प्लस–टुमा फेल खाइ रहेका हुन्छन् भने सरकारी स्कुलबाट कम ग्रेड ल्याउने विद्यार्थीले प्लस–टुमा साइन्स पढ्दा पनि निकै राम्रो गरिरहेका हुन्छन् । त्यहि भएर आफ्नो रुचिलाई पनि प्राथमिकता राखेर काम गर्नुस् । बोर्डिङ स्कुलबाट एसइई दिएर प्लस–टुमा ह्यूमनिटी वा आर्ट पढ्दा आफुलाई कम नआक्नुस् र सरकारी विद्यालयबाट एसइई दिने प्लस–टुमा साइन्स रोज्दा ठुलो हुने पनि होइन । सबैको आफ्नै रुचि हुन्छ, क्षमता हुन्छ । यही कुरा म अभिभाबकलाई पनि भन्न चाहन्छु । हामी त उनीहरूको पालनपोषण मात्र गर्छौं पढ्ने, परीक्षा दिने त उनीहरु नै हुन, हामीले त पढ्ने होइन, हामीले परीक्षा पनि दिने होइन । एसइईपछिको विषय रोज्दा उनीहरुको पनि कुरा सुनिदिनुहोस, उनीहरूको पनि मर्म बुझिदिनुस् ।


    अनि प्लस–टुमा साइन्स पढ्न गाह्रो नै हो त ?

            यो जिज्ञासा पनी मैले बारम्बार देख्ने गरेकोछु । माथिको अंश फेरि एकपटक पढ्नुहोला अधिकाँस उत्तर त्यही छ । तर हाम्रो मानसिकता यसरी बदलिएको छ कि हामी साइन्स पढ्नेलाई ठुलो मान्छौ भने आर्ट, इजुकेसन पढ्नेलाई कम आक्छौँ । कुनैपनि विषय सजिलो वा गा¥हो हुन्न । मेनेजमेन्टमा रुचि हुनेलाई साइन्स पढ्न दिँदा अवस्य पनि उसलाई असहज महसुस हुन्छ र साइन्समा रुचि हुनेलाई आर्टतिर लानु पक्का पनि उसलाई गाह्रो हुन्छ । त्यही भएर सबैको आ–आफ्नै आयाम छ, आ–आफ्नो रुपरेखा छ । त्यही भएर बिहानबेलुकाको निरन्तर २/३ घण्टाको पढाइले पनि राम्रो अंकको साथ विज्ञान पनि उतिर्ण हुन सकिन्छ । तर जेजस्तो विषय पढे पनि २/३ घण्टाको परिश्रम आवश्यक छ, चाहे त्यो मेनेजमेन्ट होस् वा इजुकेसन वा साइन्स होस् ।


    मापसे

          अन्त्यमा यो कुरामा आउन मन लाग्यो । कति विद्यार्थीको कक्षा ९/१० मै साथी संगतले गर्दा जाँड, रक्सी, चुरोटको कुलत परिसकेको हुन्छ र बाँकिको प्लस–टुमा पर्छ । कोही संगतको बाहाना पारेर खान्छन, कोही समयको माग भनेर, कोही स्टाइल, शोअफको बाहाना पारेर यसको लतमा फस्छन् र आजीवन यसको साथी नैबन्छन् । यो राम्रो बानी हुँदैहोइ । तपाईंको कोहीसँग पनि राम्रो आनीवानीको नक्कल गर्नुहोस् नकी खराब बानीको । कोही तपाईंको साथी बाटोमा हिँडिरहँदा चुरोट खान्छ तर चकलेट, चुरोटको खोस्टा बाटोमा नफाली गोजीमा जम्मागर्छ भने कुन बानी सिक्नुहुन्छ ? आमाबुवाले धेरै आशा देखेकाछन् । सपना बोकेका छन् । यसलाई गलत बानी र गलत संगतमा परेर अर्थहीन नबनाउनुस्, जिन्दगी सार्थक बनाउनुहोस् । तपाई राम्रो गर्नुहुन्छ तपाईंको भाइबहिनी र आउने पिढीले पनि त्यही नक्कल गर्नेछन् । अन्तमा रातको ९ बजे असिना पानी परिरहदा यस लेखलाई सम्पादन गर्न सहयोग गर्र्नुहुने शुभद्रा मदन फाउन्डेशनका सदस्य उषा राईलाई पनि हृदयबाटै धन्यबाद ।
    (लेखक:दिक्तेल बोर्डिङ स्कुलका विज्ञान शिक्षक हुन् । )

    सम्बन्धित समाचार