बुधवार, भाद्र १० २०७७
नेपाल वाइड
प्रहरीलाई सुरक्षा जानकारी पुस्तिका प्रदान गर्दै प्रदेशसभा सांसद रामकुमार राई ।
खोटाङको साकेला गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले प्राकृतिक प्रकोपबाट बच्नका लागि सुरक्षा जानकारी दिने पुस्तिका प्रकाशन गरेको छ । गाउँपालिका र जिल्ला प्रहरी कार्यालयले भूकम्प, आगलागी, पहिरो, बाढी तथा डुवान लगायतका प्राकृतिक विपत्तीबाट बच्ने उपाय र सावधानीका विषयमा जानकारी दिने पुस्तिका प्रकाशन गरेको हो ।
प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जीवन बचाउका लागि हरेक घरमा एक/एक प्रति पु¥याउने लक्ष्यका साथ दुई हजार थान सचेतनामुलक पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । सुरक्षा जानकारी पुस्तिका प्रदेशसभा सांसद रामकुमार राई र गाउँपालिका अध्यक्ष अर्जुन खड्काले ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताका प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
पुस्तिकामा गाउँपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी, साकेला गाउँपालिकाभित्रका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीको सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले गत असार १२ गतेदेखि थालेको सुरक्षा सचेतना अभियान अन्तरगत साकेला गाउँपालिकामा सुरक्षा जानकारी पुस्तिका प्रकाशन गरेर वितरण सुरु गरिएको हो ।
सुरक्षा सचेतना अभियानकाक्रममा खोटाङका ४२ हजार ६४७ घरधुरीमा पुगेर सुरक्षा सचेतना सम्वन्धी सचेतनामुलक पुस्तिका वितरण गर्ने लक्ष्य राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयाे ।
सचेतनामुलक पुस्तिका समुदाय–प्रहरी पालिका समिति, वडा समिति र टोल समितिमार्फत घर–घरमा वितरण भइरहेको जनाइएको छ । जिल्लाका नागरिक काम बिशेषले तराई वा लेकाली क्षेत्रमा समेत पुग्ने भएकाले शितलहर र लेक लाग्नबाट बच्ने उपायका बारेमा समेत जानकारीमुलक कार्यक्रम सञ्चालन भइरहेको समुदाय प्रहरी जिल्ला समितिले जनाएको छ ।