शुक्रवार, भाद्र १२ २०७७
नेपाल वाइड
‘रक गार्डेन’मा रेलिङ सहितको पर्खालको घेराबारा गरिदै
‘रक गार्डेन’का रुपमा विकास गर्न लागिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडा क्षेत्रमा रेलिङ सहितको पर्खालको घेराबारा हाल्न सुरु गरिएको छ ।
कडा चट्टान नै चट्टानले ढाकिएको ककनीडाँडालाई ‘रक गार्डेन’मा विकास गर्ने लक्ष्यकासाथ ककनीडाँडाको पश्चिमतर्फबाट रेलिङ सहितको पर्खाल हाल्न सुरु गरिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले बिनियोजन गरेको ४० लाखको खर्चमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमतर्फबाट ‘रक गार्डेन’ क्षेत्रमा सिमेन्टेड पर्खालमाथि स्टीलको रेलिङ राखेर घेराबारा हाल्न सुरु गरिएको हो ।

‘रक गार्डेन’मा रेलिङ सहितको पर्खालको घेराबारा गरिदै
प्रदेश सरकारले उपलव्ध गराएको बजेटबाट ढुंगे बगैँचा आसपासमा करिब पाँच सय मिटर लामो घेराबारा गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्दै आर्थिक श्रोतको माध्यमकारुपमा बिकास गर्ने लक्ष्यकासाथ नगरपालिकाले ‘चुरेडाँडा रक गार्डेन’को योजना अघि सारेको हो ।
‘ककनीडाँडाका करिब १६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाउने डिपिआर तयार पारेका छौँ,’ मेयर राईले भन्नुभयो, ‘रक गार्डेनको वरिपरि क्रमशः रेलिङ सहितको पर्खाल हालेर घेरा हाल्ने काम पूरा गरिने छ,’ मेयर राईले भने, ‘त्यसपछि स्ट्रक्चर र गार्डेनिङको काम हुन्छ ।’
हलेसी मन्दीरभन्दा करिब आधा घण्टा पैदलमाथि रहेको सिंगो डाँडा खोपेर बनाएजस्ता चुच्चो–चुच्चो परेका ढुंगाले ढाकिएको छ । प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केही माथि रहेकाले हलेसी र ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा पुर्याउन सकिने सम्भावना छ ।
रक गार्डेन बनाउनका लागि ककनीडाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी/नचलाई सजावटका काम गरिने मेयर राईले बताउनुभयो । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक जाने गरेका छन् ।

‘रक गार्डेन’को रुपमा निर्माणाधिन ककनीडाँडा क्षेत्र