सोमवार, भाद्र १५ २०७७
नेपाल वाइड
विश्वका दुई ठूला देशमध्ये पर्ने भारत र चीनबीच पुनः सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । दुई देशका सैनिकबीच लद्दाख क्षेत्रको सीमामा झडप भएको भारतीय सञ्चारमाध्यमसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सेनाले सोमबार विज्ञप्ति जारी गरी चिनियाँ जनसेना (पिएलए) ले लद्दाख क्षेत्रमा सीमारेखा परिवर्तन गर्ने प्रयास गरेकोमा आफ्नोतर्फबाट उक्त प्रयासलाई रोकेको जनाएको छ । साथै भारतीय सेनाले सीमा क्षेत्रमा शान्ति बनाइराख्न बनेको सहमतिको उल्लंघन भएको उल्लेख गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सैनिकले पेङगाेङ त्सो लेकमा चिनियाँ सैनिकले चालेको उक्साहटपूर्ण कदम रोकिएको छ, भारतीय सेना संवादमार्फत शान्ति कायम गर्नका लागि तत्पर छ, साथै आफ्नो क्षेत्रको अखण्डता र सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवाद समाधानका लागि ब्रिगेड कमान्डरस्तरमा बैठक पनि जारी छ ।’ दुई देशका सैनिकबीचको झडप २९ र ३० अगस्ट याने कि शनिबार र आइतबार राति भएको बिबिसीले जनाएको छ ।
यसबारेमा चीनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बिबिसीले जनाएकाे छ । भारत र चीनको बीचमा तीन हजार पाँच सय किलोमिटर सीमा रहेको छ । यी दुई देशबीच सीमाको विषयलाई लिएर सन् १९६२ मा युद्धसमेत भएको थियो ।
यसअघि लद्दाख क्षेत्रको गलवानमा १५ जुनमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको थियो । त्यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने कति चिनियाँ सैनिक हताहत भए भन्नेबारे अहिलेसम्म चीनले कुनै प्रतिक्रिया दिएको छैन ।