मंगलवार, भाद्र १६ २०७७
नेपाल वाइड
जुस र पेरी उत्पादनका लागि जालपामा नासपाती संकलन गर्दै स्थानीय । तस्बिर सौजन्य विकास राई
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ । प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नासपातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतकारुपमा बिकास गर्नका लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो ।
नासपातीबाट जुस र पेरी उत्पादनका लागि हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपानी संकलन सुरु गरिएको जालपाका वडाध्यक्ष बिकास राईले बताउनुभयो ।
सोमबार एकै दिन स्थानीय किसानबाट प्रतिकेजी चार रुपैयाँका दरले एक हजार नासपाती खरिद गरेर ट्याक्टरमा संकलन गरिसकिएको छ । जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् ।
जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नासपातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो । खेर गइरहेका नासपातीबाट जुस र पेरी उत्पादनका लागि वडा कार्यालयले मेसिन खरिद र उत्पादन तालिम सञ्चालनमा सहयोग गरेको जनाएको छ ।
हाल नासपाती संकलन गरेर रस निकाल्ने काम भइरहेको अवस्थामा भदौ २० गतेदेखि तालिम दिएपछि औपचारिकरुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम सुरु जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ ।
कोरोना महामारीका कारण हाल काठ्माण्डौं लकडाउन भएकाले हाललाई जुस र पेरी ड्रममा भण्डारण गरिने छ । सहज वातावरण बनेपछि आवश्यक सामग्री ल्याएर जुस र पेरीको लेबलिङ र बोटलिङको काम गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
जालपामा नासपातीबाटझैं सुन्तला, आल्चा, आँप लगायतका मौसमी फलफुलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको छ । लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नासपातीबाट जालपामा २०५८/०५९ सालतिरै पेरी (वाइन) उत्पादनको प्राक्टिस गरिएको थियो ।