बुधवार, भाद्र १७ २०७७
नेपाल वाइड
जिल्ला समन्वय समिति खोटाङले कालाजार संक्रमित स्थानीय भेटिएको विषयमा चासो देखाएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पाँच स्थानीयलाई कालाजार संक्रमण भएको समाचार सार्वजनिक भएपछि जिल्ला समन्वय समितिले चासो देखाएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ नेतृत्वको टोलीले बाहुनीडाँडा पुगेर संक्रमित स्थानीय र उनीहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन् । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल, हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगत र ल्याव टेक्नेसियन अधिकृत राजु राउतको टोली स्थलगत अध्ययनमा पुगेको केही समयपछि जिससको टोली प्रभावित क्षेत्र पुगेको हो । स्थानीय तथा आफन्तलाई सोधपुछ गर्दा कालाजार लागेका सबै बिरामी निको भइसकेको जानकारी पाइएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयो ।
पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परिक्षणकाक्रममा कालाजार भएको पूष्टी भएको हो ।
एउटै वडाका पाँच जनालाई कालाजार भएको र उपचारपछि घर फर्किसकेको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । कालाजारको संक्रमण फैलिन नदिनका लागि आवश्यक स्वास्थ्य गतिविधि सञ्चालनका लागि नगरपालिकाले छुट्टै कार्यक्रम बनाएको र प्रदेश सरकारबाट पनि रकम बिनियोजन भएको सह–संयोजक घिमिरेले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।