शुक्रवार, भाद्र १९ २०७७
नेपाल वाइड
सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।