Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु

    कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु


    • शनिवार, भाद्र २० २०७७

    • नेपाल वाइड


    कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु
    सांकेतिक तस्बिर

             चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो ।

            अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताए । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उनले भने, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।” 

            उनले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताए ।  फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उनले बताए । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए । 

             नेगेटिभ वा पोजिटिभ रिपोर्ट आएकाको मोबाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेबसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिङ्कमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ । “स्वाब सङ्कलनपछि सबै सफ्टवेयरबाट काम हुन्छ”, बस्यालले भने, “फर्म र स्याम्पल बारकोडमा हालिन्छ । यसले हराउने र तलमाथि हुने सम्भावना कम हुन्छ ।” सबै रिपोर्ट डिजिटल सिस्टममा हुने भएकाले फाइल पल्टाउने झन्झट गर्नु नपर्ने उनले बताए । 

             प्रयोगशाला प्रमुख डा नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गरिन् । “कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तै आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिँदैन”, डा अधिकारीले भनिन् ।

            रिपोर्ट मोबाइलमा पठाउन शुरु भएपछि कर्मचारी र सर्वसाधारण दुवैलाई सहज हुने भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । रिपोर्टकै लागि धेरै समय खर्च गर्नुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । 

            अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ । चैत २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म करीब २१ हजार नमूना परीक्षण गरिएको छ । चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन् । रासस 

    सम्बन्धित समाचार