Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अलैँचीको भन्सार मूल्य दोब्बर भएपछि कृषकहरू मर्कामा

    अलैँचीको भन्सार मूल्य दोब्बर भएपछि कृषकहरू मर्कामा


    • सोमवार, भाद्र २२ २०७७

    • नेपाल वाइड


    अलैँचीको भन्सार मूल्य दोब्बर भएपछि कृषकहरू मर्कामा

               बजार मूल्यभन्दा अलैँचीको भन्सार मूल्य दोब्बर भएपछि कृषकहरू मर्कामा परेका छन् । नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) तिर्नुपर्ने बाध्यता छ । नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त ३०० भन्सार मूल्य तिर्नुपरेपछि कृषक तथा यसका व्यवसायी मर्कामा परेका छन् । ‘भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ’, अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, ‘यो सबै मूल्य किसानले नै तिर्नुपर्छ ।

          हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि नाफा हुन्छ ।’ आठ वर्षयता नेपालबाट जाने अलैँचीको भन्सार मूल्य सोहीअनुसार छ । अलैँचीको मूल्य अधिकतम हुँदा यो दरअनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्यभन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ ।

          ‘हामीले पारि (भारतीय भन्सार) मा जतिको मूल्य बनायो नेपाल सरकारलाई कर पनि त्यहीअनुसार बुझाउनुपर्छ’, अलैँची व्यवसायी महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक नेपाल भन्छन्, ‘प्रतिमन रु एक लाख अलैँचीको मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्यअनुसारको कर ? त्यसैले अत्यन्तै गाह्रो छ ।

          घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।’ अहिलेको प्रावधानअनुसार रु चार लाखसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै रु २० लाख कोराबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ ।

          सोही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ । तर, भारतीय भन्सारमा बढी मूल्यको अलैँची (८०० प्रतिकिलो) बनाउँदा स्वतः कोरोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ ।

        भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण भए पनि सुनुवाई नभएको व्यवसायीको गुनासो छ । दुई देशबीच हुने वाणिज्य सन्धि पनि परिमार्जन हुनुपर्ने भए पनि  नेपाल र भारतको हकमा अहिलेसम्म परिमार्जन हुन नसकेको व्यवसायी बताउँछन् ।

            नेपालबाट भारत जाने अलैँचीलाई मात्र प्रतिकिलो भारु ५०० भन्सार तिर्नुपर्छ तर भारतमै उत्पादित अलैँचीको भने भारु ३०० मात्र तिर्दा पुग्छ । भारतकै सिक्किमबाट पश्चिम बङ्गाल जाने भन्सार मूल्य भारु ३०० मात्रै छ । यसैले भारतीय व्यापारीले नेपालको अलैँची किन्न मान्दैनन । नेपाल र भारतको अलैँचीको भन्सार महसुलमै अत्यन्तै बढी फरक छ । नेपालबाट जाने अलैँचीको भन्सार मूल्य बढी हुनुमा चाहिँ भारतले बनावटी समस्या भिराएको व्यवसायी बताउँछन् । 

           नेपालबाट ठूलो परिमाणमा तेस्रो मुलुक जानेमध्ये बङ्गलादेश मुख्य देश हो तर नेपालले बङ्गलादेशसँग अलैँचीसम्बन्धी व्यापार सम्झौता नगर्दा बढी कर तिर्नुपरेको व्यवसायीको गुनासो छ । अहिले बङ्गलादेशमा अलैँची पठाउन भूटानलाई शून्य कर लाग्छ भने नेपालले ३५ प्रतिशत कर तिर्नुपर्छ । यसैले सिधै अलैँची बङ्गलादेश लैजान नसकिने भएकाले भारतमार्फत अलैँची लानुपर्ने बाध्यता छ ।

           नेपालमा उत्पादन भएको ९८ प्रतिशत अलैँची बाहिरी देश निर्यात हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको व्यापार तथा तथा निकासी केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

    सम्बन्धित समाचार