मंगलवार, भाद्र २३ २०७७
नेपाल वाइड
रुखबाट लडेका कारण वर्ष दिनदेखि ओछ्यानमा थलिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई आर्थिक सहयोग जुटेको छ ।
रुखबाट लडेको वर्ष दिनपछि अस्पतालमा पुर्याएर डिस्चार्ज पाएकी चिनामायाँलाई शुभेच्छुकबाट नगद १० हजार सहयोग प्राप्त भएको हो । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ घर भइ हाल उदयपुरको गाईघाटमा बसिरहेका चम्फसेर राई र उदिमसेर राईबाट ७ हजार र जनता समाजवादी पाटी हलेसी तुवाचुङ नगर कमिटिले ३ हजार सहयोग गरेको हो ।
संकलित रकम मंगलबार जनता समाजवादी पाटीका नगर कमिटि अध्यक्ष मबिन्द्र राईले घरैमा पुगेर चिनामायाँलाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका लागि जनता समाजवादीका अञ्जिलहाङ राई र अभियान्ता राजेश राई समेत ओफ्लाङ पुगेका थिए ।
डाले घाँस काट्नेक्रममा रुखबाट लगेर ओछ्यानमा थलिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको पहलमा गत साउन १३ गते टिचिङ अस्पताल भर्ना गरिएकी चिनामायाँ साउन ३२ गते डिस्चार्ज भएकी थिईन् ।
२०७६ साल असार २१ गते रुखबाट लडे पनि उपचार अभावमा ओछ्यानमा थलिएको अवस्थामा उनलाई उपमेयर राईको पहलमा अस्पताल लगिएको थियो । रुखबाट लडेपछि ओछ्यानमा मुढो लडाएझैं सुतेकोसुतै हुने, उठेर हिँडडुल गर्न नसक्ने, तल्लो पेट बेसरी दुख्ने र खाना खाए लगत्तै वान्ता हुने समस्याबाट पिडित भएकी चिनामायाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि अस्पतालले डिस्चार्ज दिएको उनका फुपाजु सुर्ज अधिकारीले बताए ।