Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नामार्जुङ मादीको १२ मेगावाट क्षमताको जलविद्युत राष्ट्रिय प्रसारणमा

    नामार्जुङ मादीको १२ मेगावाट क्षमताको जलविद्युत राष्ट्रिय प्रसारणमा


    • बिहिवार, भाद्र २५ २०७७

    • नेपाल वाइड


    नामार्जुङ मादीको १२ मेगावाट क्षमताको जलविद्युत राष्ट्रिय प्रसारणमा

           कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्‍न भएको छ । मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रबर्द्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्‍न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो ।

            मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो । उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए । 

           आयोजना गत चैत पहिलो सातानै सम्पन्न भएको थियो । “आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ,अवको १५ दिन परीक्षणकाल रहनेछ”, उनले भने । चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताईएको छ ।

          निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाई हुँदा कम्पनीलाई रु १५ करोड हाराहारीमा घाटा भएको बताए । ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको रु एक अर्व ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको रु ९० करोड गरी रु दुई अर्व २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताए । 

           आयोजनामा ६९९ जनाले रु ६७ करोड ५० लाख लगानी गरेका छन् । त्यसैगरी सर्वसाधारण(पव्लिक) शेयर रु १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि रु नौ करोड शेयर निष्काशन गरिने आयोजनाले जनाएको छ । 

          सो आयोजनाको माथि ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने त्यसभन्दा तल २५ मेगावाट क्षमताको अपर मादी विसं २०७३ मङ्सिरमा सम्पन्न भएको थियो । - रासस

    सम्बन्धित समाचार