शनिवार, भाद्र २७ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जनता समाजवादीको नगर समिति गठन गरिएको छ । केन्द्रमा संघीय समाजवादी र राजपाबीचमा एकता भएको केही समयपछि हलेसी तुवाचुङ नगरपालिकामा जनता समाजवादीको नगर समिति गठन गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा राजपाको संगठन नभएकाले मबिन्द्र राईको अध्यक्षतामा रहेको तत्कालिन संघीय समाजवादीको ३७ सदस्यीय नगर समितिलाई नै जनता समाजवादीको नगर समितिमा रुपान्तरण गरिएको छ ।
जिल्ला समितिको एकीकरण गर्नु अगाडि जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाबाट एकतापछिको रुपान्तरण कार्यक्रम सुरु गरिएको संघीय समाजवादीका जिल्ला अध्यक्ष टंक थापाले बताए । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा एकतापछिको रुपान्तरण टुंग्याइएपछि जिल्ला कार्य समितिको एकता टुंग्याइने जनाइएको छ ।
संघीय समाजवादीका केन्द्रीय सदस्य मदन राई, प्रदेश समिति सचिव सुर्य राई, केन्द्रीय सदस्य मोहन गुरुङ, केन्द्रीय अनुशासन आयोगको सदस्य बीरबहादुर राई, जिल्ला अध्यक्ष थापा, जिल्ला उपाध्यक्ष मणी राई लगायतको उपस्थितिमा तत्कादिन संघीय समाजवादीको नगर समितिलाई जनता समाजवादीको नगर समितिमा रुपान्तरण गरिएको हो ।