Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जालपामा नासपातीको जुस, पेरी र जेली उत्पादनका लागि जनशक्ती तयार

    जालपामा नासपातीको जुस, पेरी र जेली उत्पादनका लागि जनशक्ती तयार


    • आइतवार, भाद्र २८ २०७७

    • नेपाल वाइड


    जालपामा नासपातीको जुस, पेरी र जेली उत्पादनका लागि जनशक्ती तयार

         जालपामा तालिमका दौरान नासपातीबाट उत्पादन गरिएको जुस । तस्बिर सौजन्य:विकास राई

           खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस, पेरी र जेली उत्पादनका लागि दक्ष जनशक्ती तयार पारिएको छ । प्रशस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा खेर गइरहेका नासपातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतकारुपमा बिकास गर्नका लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीबाट जुस, पेरी र जेली उत्पादन गर्ने ८ जना दक्ष जनशक्ती तयार पारेको हो ।

            खेर गइरहेका नासपातीलाई आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यकासाथ धमाधम नासपाती संकलन भइरहेको अवस्थामा जुस, पेरी र जेली उत्पादन सम्वन्धी सात दिने तालिम सञ्चालन गरिएको जालपाका वडाध्यक्ष बिकास राईले बताए । ‘तालिमकै अवधिमा नासपातीबाट जुस, पेरी र जेली तयार भयो, टेष्ट पनि गरियो । स्वाद सोचेजस्तो भएको छ,’ वडाध्यक्ष राईले भने, ‘उद्योगकैरुपमा जुस, पेरी र जेली उत्पादन गर्ने तयारी छ । तालिममा सहभागीले दक्ष जनशक्तीकारुपमा उद्योगमा रोजगार पाउने छन् ।’

            नासपातीबाट जुस र पेरी उत्पादनका लागि जालपामा हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर भदौ दोश्रो सातादेखि नै नासपानी संकलन सुरु गरिएको थियो । जुस, पेरी र जेली उत्पादनका लागि किसानबाट प्रतिकेजी चार रुपैयाँका दरले नासपाती खरिद गरिएको कृषि सहकारी संस्थाले जनाएको छ ।

           बजार नपाउँदा बंगुरलाई चारोकारुपमा खुवाउने गरिएको नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नासपातीलाई प्रशोधन गर्दै जुस, पेरी र जेली उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताए ।

           हाल नासपाती संकलन गरेर रस निकाल्ने काम भइरहेको छ । कोरोना महामारीका कारण काठ्माण्डौंबाट आवश्यक सामग्री ल्याउने अवस्था नभएकाले हाललाई जुसलाई ड्रममा भण्डारण गरेर राखिने छ । सहज वातावरण बनेपछि आवश्यक सामग्री ल्याएर जुस, पेरी र जेलीको लेबलिङ र बोटलिङको काम गरिने जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ ।

           खेर गइरहेका नासपातीबाट जुस, पेरी र जेली उत्पादनका लागि वडा कार्यालयले मेसिन खरिद र उत्पादन तालिम सञ्चालनमा सहयोग गरेको जनाएको छ । जालपामा नासपातीबाट झैं सुन्तला, आल्चा, आँप लगायतका मौसमी फलफुलबाट जुस उत्पादन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राईले बताए ।

    लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नासपातीबाट जालपामा २०५८/०५९ सालतिरै पेरी (वाइन) उत्पादनको प्राक्टिस गरिएको थियो ।

    सम्बन्धित समाचार