Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उज्यालो नगर अभियान

    हलेसीमा विद्युतीकरणको काममा तिब्रता

    हलेसीमा विद्युतीकरणको काममा तिब्रता


    • मंगलवार, भाद्र ३० २०७७

    • नेपाल वाइड


    हलेसीमा विद्युतीकरणको काममा तिब्रता

                    विद्युतीकरणका लागि श्रमदानबाट पोल गाड्दै च्यास्मीटार दाल्फुका स्थानीय

            खोटाङ । भदौ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विद्युत विस्तार गर्न बाँकी वडामा विद्युतीकरणको कामले तिब्रता पाएको छ । ‘उज्यालो वडा’ घोषणा अभियान चलाइएको नगरपालिकाका बाँकी वडा र टोलमा विद्युत बिस्तारका लागि हाल पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने लगायतका कामले तिब्रता पाएको हो ।

           हालसम्म केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युतले नछोएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काम भइरहेको छ । यस्तै, केही समयअघि मात्र विद्युतले छाेएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विभिन्न टोलमा पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने लगायतका काम भइरहेको नगरपालिकाका मेयर इवन राईले बताए ।

           यस्तै, विद्युत पुग्न बाँकी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदे, काचुपात्ला, पाइङ्मा, छोकमाला, गणेशटार, चुमाखु, रातमाटेमा विद्युतीकरणको कामले तिब्रता पाएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका साविकका ९ वटै वडामा विद्युतीकरणको ९० प्रतिशत काम भइसकेको छ । धितुङमा ट्रान्सफर्मर राख्न मात्र बाँकी छ ।

            हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पनि विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको पामे, नवलपुर र शिखरकटेरीमा विद्युतीकरणको काम भइरहेको मेयर राईले बताए । बाहुनीडाँडा र डिकुवामा भने नेपाल विद्युत प्राधिकरणको बजेटले ठेक्कामा विद्युतीकरणको काम सुरु गरिएको हो । अन्य वडामा भने उपभोक्ताबाट श्रमदान जुटाइएको छ ।

            मेनलाईनको पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काम नगरपालिकाकोतर्फबाट भए पनि शाखालाईनको काममा श्रमदान जुटाइएको मेयर राईले बताए । हाल गाउँमा विद्युत बिस्तारका लागि उपभोक्ताले पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काममा उत्साहकासाथ श्रमदान गरिरहेका छन् । श्रमदानका लागि टोल–टोलमा समुह बनाइएको छ । धितुङ र राजापानीमा दशैं अगाडि विद्युत बाल्नेगरी काम भइरहेको नगरपालिकाले जनाएको छ ।

           स्थानीय सरकार आउन अघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत बिस्तार गरिएको थियो ।

           स्थानीय सरकार कार्यान्वयनमा आएपछि नगरपालिकाले ‘उज्यालो वडा’ घोषणा अभियान चलाएर विद्युत बिस्तारको कामलाई तिब्रता दिएको हो । नगरपालिकाको आफ्नै बजेट, संघीय सरकार र नगरपालिकाको म्याचिङ फण्ड तथा नेपाल विद्युत प्राधिकरणको बजेटमा विद्युत बिस्तारलाई तिब्रता दिइएको हो ।

            हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेर र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई आर्थिक वर्ष २०७६/०७७ मा ‘उज्यालो वडा’ घोषणा गरिएको थियो । विद्युत बिस्तार भइसकेका हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा हाल काठको पोल हटाउने अभियान सञ्चालन भइरहेको मेयर राईले बताए ।

          आर्थिक वर्ष २०७६/०७७ मै ‘उज्यालो नगर’ घोषणा गरिसक्ने लक्ष्य लिइएको भए पनि कोभिड–१९ का कारण लक्ष्य अधुरो रहन पुगेको हो । ‘हामीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ,’ मेयर राईले भने, ‘त्यसमध्ये विकासका लागि विद्युत प्रमुख रहेछ ।

    विद्युतबाट चल्ने उपकरण र प्रविधिका माध्यमबाट ग्रामिण क्षेत्रका जनजीवन सरल र सहज बनाउन सकिने भएकाले हामीले विद्युतलाई बढि प्राथमिकता दिएका छौँ ।’

     

    सम्बन्धित समाचार