बुधवार, भाद्र ३१ २०७७
नेपाल वाइड
जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।
स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्न आफ्नो जोड रहने बताएका छन् । आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ । सुगाले "आबेनोमिक्स" आबेले हस्ताक्षर गरेको आर्थिक नीतिलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त आर्थिक नीतिमा मौद्रिक सहजता, वित्तीय खर्च र संरचनात्मक सुधारहरूको माध्यमबाट विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई उत्प्रेरित गर्न डिजाइन गरिएको छ ।
तर सुगाले आबेजस्तै पहिला कदम भनेको कोरोना भाइरस महामारीविरुद्धको अभियानलाई अघि बढाउनु पर्नेछ । उनको आगामी सन् २०२१ मा हुने निर्वाचनअघि नै जापानको लागि कोभिड-१९ परीक्षण र खोपको विकास गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।