Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ढुंगा खानीका कारण दिक्तेल–लफ्याङ सडक खण्डमा जोखिम

    ढुंगा खानीका कारण दिक्तेल–लफ्याङ सडक खण्डमा जोखिम


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    ढुंगा खानीका कारण दिक्तेल–लफ्याङ सडक खण्डमा जोखिम

                    दिक्तेल–लफ्याङकाे जोखिमयुक्त सडक खण्ड । तस्विर सौजन्य  : बबी चाम्लिङ

           खोटाङ । असोज १, जथाभावी ढुंगा खानी सञ्चालन गरिएका कारण खोटाङको दिक्तेल–लफ्याङ सडक खण्डमा आवत–जावत गर्ने सवारी साधन तथा पैदल यात्रा गर्ने स्थानीयलाई सास्ती भएको छ । दिक्तेल अस्पतालचोक–खोटाङबजार सडक खण्ड अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हात्तीढुंगे खोला पुर्व, ओख्रे खोला उत्तरभित्रको ठूलोबारी र डुम्रीपहरा क्षेत्रमा जथाभावी ढुंगा र गिटी खानी सञ्चालन गर्दा सडकमा ओहोर–दोहोर गर्ने सवारी साधन र पैदल यात्रीलाई सास्ती भएको हो ।

            सडकभन्दा माथि सञ्चालन गरिएका ढुंगा खानीका कारण सडकमा ढुंगा र माटो थुप्रिदा सडकमा जोखिम बढाएको पाइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताउनुभयो । खानीबाट ढुंगा निकालिएका कारण वर्षा याममा कतिपय ठाउँमा पहिरो खसेको तथा कतिपय ठाउँमा पहिरो खस्ने जोखिम देखिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

             माथि खानीबाट निकालिएको ढुंगा गुडाएर सडकमा झारेर फोड्ने र गिटी कुट्ने गरिएकाले सडक यात्रा जोखिमपूर्ण बनेको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयो । सो सडकबाट आवत–जावत गर्ने स्थानीयलाई खानीबाट खस्ने ढुंगाले किच्ने त्रास पनि देखिएको जनाइएको छ ।

    119581541_2591198804505355_6054995639763937650_n.jpg

    दिक्तेल–लफ्याङकाे जोखिमयुक्त सडक खण्ड । तस्विर सौजन्य  : बबी चाम्लिङ

             जथाभावी सञ्चालन गरिएका ढुंगा खानीका कारण वर्षाका बेलामा सडकमा अवरोध सिर्जना भएको गुनासो आएपछि जिल्ला समन्वय समितिका संयोजक चाम्लिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनकाक्रममा ढुंगा खानीका कारण सडक बिग्रिएको, ठाउँ–ठाउँमा पहिरो खसेको, सडकभन्दा मुनिका खसेको ढुंगा माटोले खेतबारी पुरेको देखिएको छ ।

              डुम्री पहरामा सञ्चालन गरिएको ढुंगा खानीबाट ढुंगा गुडाएर सडकमा झारेर ढुंगा र गिटी फोड्ने काम हुँदा सडक बिग्रनुका साथै आवत–जावत गर्ने स्थानीयलाई ढुंगाले किच्ने जोखिम देखिएको प्रमुख चाम्लिङले बताउनुभयो । ठूलोबारी र डुम्री पहरा क्षेत्रमा लामो समयदेखि ढुंगा र गिटी खानी सञ्चालन हुँदैआएको छ ।

             अनुगमन टोलीले जोखिम न्यूनीकरणका लागि जथाभावी सञ्चालन गरिएका ढुंगा खानी रोक्नुपर्ने, ढुंगा निकाल्दा धस्सिएर सडक माथि अड्किएका ढुंगा तत्काल हटाउनुपर्ने, सहज आवागमनका लागि तत्काल सडक सरसफाई तथा मर्मत सम्भार गर्नुपर्ने सुझाव दिएको छ ।

    सम्बन्धित समाचार