शुक्रवार, आश्विन २ २०७७
नेपाल वाइड
सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल शुक्रबार दिउँसो १ः३० बजे जनकपुर आइपुगेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।
कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो । रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ ।
सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल २०७१ माघदेखि बन्द भएको थियाे ।

दशैंअगाडि नै नियमित रुपमा सञ्चालनका लागि भारतसँग छलफल गरी मोडालिटी तय गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो । सन् २०१० मा भारत सरकारले यो रेलमार्गको 'ब्रोडगेज' पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो । जनकपुरदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ ।

राणा शासनका बेला बिसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिएको थियो । शुरुवातमा तत्कालीन ब्रिटिश शासकले नेपालका जंगलको काठ ओसार्ने उद्धेश्यकासाथ रेल सेवा शुरु गरेको मानिन्छ । कालान्तरमा यो सीमावर्ती क्षेत्रका नागरिकको आवतजावतको प्रमुख साधन बनेको थियो ।
