बिहिवार, आश्विन ८ २०७७
नेपाल वाइड
फायल तस्बिर
मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको बैठकले अध्यादेश पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको हो । संसद्को नियमित अधिवेशन चालू नरहेका कारण सरकारले हिउँदे अधिवेशनमा पेस हुने गरी अध्यादेश पारित गरेको हो ।
गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायको व्यवस्था हुने गरी १५ दिनभित्र कानुनको मस्यौदा ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए ।
एसिड आक्रमणकारीलाई जघन्य अपराधीसरह कारबाही गर्ने, सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने, भरणपोषण गराउने, छिटो अस्पताल पुर्याउने व्यवस्था गर्नेलगायतका विषय समेटेर मस्यौदा ल्याउन उनको निर्देशन थियो । त्यस्तै, पीडितहरूसँगको छलफलमा उनले पीडितलाई वीर अस्पताल र शिक्षण अस्पतालमा उपचारको व्यवस्था गर्ने, पीडितको उपचार खर्च सरकारले व्यहोर्ने, निःशुल्क पठनपाठन, सीपमूलक तालिम र रोजगारीको व्यवस्था सरकारले गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए । त्यस्तो, प्रतिबद्धताको दुई सातामै सरकारले एसिडपीडितका पक्षमा अध्यादेश ल्याएको हो ।