बिहिवार, आश्विन ८ २०७७
नेपाल वाइड
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद लैजाने भएको छ ।
मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्च स्तरीय समूहको बैठकले सातामा दुई दिन बिदा दिनेसम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको हो ।
पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभाग प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य रहेको एक समिति बनाएको छ । समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि पनि छन्।
त्यस्तै बैठकले पशुपति मन्दिर लुम्बिनी, संग्राहालय खोल्न सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेस गर्ने निर्णय गरेको छ । बैठकले बङ्गलादेश, इन्डोनेसिया, रूस, कोरिया, फिनल्यान्डसँग भएका हवाई सम्झौता मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ।