Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत सुरु

    गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत सुरु


    • शुक्रवार, आश्विन ९ २०७७

    • नेपाल वाइड


    गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा सडक मर्मत सुरु

      दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडकका खाल्डाखुल्डीमा रोडा राखिँदै ।

           खोटाङ । असोज ९, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडक मर्मत सम्भारको काम सुरु गरेको छ । वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा (गिटी) भरेर सडक सुचारु गराउनका लागि गाउँपालिका र ट्याक्टर व्यवसायीबीचमा सहकार्य गरिएको हो ।

            सडकका अधिकांश खण्डमा खाल्डाखुल्डी बनेपछि सवारी साधन आवत–जावतमा समस्या भइरहेको अवस्थामा बिहिबारदेखि रोडा ओसार्ने र सडकको खाल्डाखुल्डीमा हालेर मर्मत सम्भारको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । दशैं र तिहार नजिकिदै गरेको अवस्थामा गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा गाउँपालिकाभित्रका मूख्य–मूख्य सडक मर्मतको काम सुरु गरिएको हो ।

           गाउँपालिकाभित्रका प्रमुख सडककारुपमा रहेको रमाईलो–छितापोखरी, टुवा खोला–तावा खोला, याम्खा–खानीडाँडा र रेग्मीटार–पञ्चमी सडकका खाल्डाखुल्डीमा रोडा भर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

           गाउँपालिकाको आग्रहमा गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायी वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा भर्न र मर्मतसम्भारका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराउन तयार भएका छन् । मंगलबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकले सडक मर्मत सम्भारका लागि खाल्डाखुल्डीमा भर्ने रोडा ओसार्न ट्याक्टर व्यवसायीले तीन/तीन दिन ट्याक्टर उपलव्ध गराउने निर्णय भएको थियो ।

          सडक मर्मत सम्भारकाक्रममा रोडा ओसार्नका लागि हरेक ट्याक्टर व्यवसायीले एक/एक वटा ट्याक्टर तीन दिनसम्म निःशुल्क उपलव्ध गराउने सहमती भएको छ । सडकको खाल्डोमा थुपारिएको रोडालाई जेसिभी लगाएर सम्याउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । ‘वर्षाका कारण सडकमा जताततै खाल्डाखुल्डी बनेका छन् ।

         त्यो खाल्डाखुल्डी पुरेर सडकलाई सुचारु गराउनका लागि ट्याक्टर व्यवसायीसँग सहकार्य गरिएको हो,’ गाउपालिका अध्यक्ष राईले भने, ‘सडकको खाल्डोमा हाल्ने रोडा ओसार्ने चालक, सह–चालक तथा लोडअनलोडमा खटिने व्यक्तीलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएका छौँ । दशैं तिहारका लागि सडकलाई चुस्त बनाउने हाम्रो तयारी हो ।’

     

    सम्बन्धित समाचार