शनिवार, आश्विन १० २०७७
नेपाल वाइड
ध्रुब बुढाथोकी ‘धिरेन’
‘बायाँ मेरुदण्डभन्दा अलिमाथिबाट लागेको गोली दायाँ करङ भाँचेर दायाँ कुहिना छेडेर बाहिरियो । त्यो अवस्थामा मलाई कसैले बाँच्छ भनेका थिएनन्, म आफुलाई पनि बाँच्छु र फेरी युद्ध मैदानमा फर्किन्छु भन्ने लागेको थिएन । कुहिनाको जोर्तीमा अहिले पनि गोली छ । दरभंगा हुँदै पट्ना पुगेर उपचार गर्दा पनि गोली निकाल्न सकिएन,’ यो भनाई नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’को हो ।
२०६० साल फागुन ५ गते खोटाङको ऐसेलुखर्कको धुलेडाँडामा सेनाको गस्तीमाथि आक्रमण र सो मोर्चामा घाईते भएको स्मरण गर्नेक्रममा नेकपा नेता धिरेनले उल्लेखित भनाई राखेका हुन् । जनमुक्ती सेनालाई कमाण्डिङ गर्दै युद्ध लड्नेक्रममा उनलाई पछाडिबाट गोली लागेको थियो । साईडबाट लागेको गोलीले दायाँतर्फको करङ छेडेर दायाँ कुहिनासम्म वारपार बनाएको थियो ।
उनको अवस्था देखेर मोर्चाका सहकर्मीले ‘बाँच्छ, फर्केर आउँछ र फेरी पनि लडाई लड्छ’ भन्ने आशा मारेका थिए । तर, तीन/चार महिनापछि चोट निको भएर उनी पुःन आफ्नो मोर्चा सम्हाल्दै बन्दुक–बारुदसँग खेल्न फर्किएका थिए । तत्कालिन जनमुक्ती सेनाले ऐसेलुखर्कमा गरेको सो आक्रमण दोश्रो पटक थियो । धिरेनले छैठौं बटालियन कमाण्डरकारुपमा मोर्चा सम्हालेका थिए ।
भारतको दरभंगा हुँदै पट्नासम्म पुगेर उपचार गर्दा पनि शरीरको गोली निकाल्न नसकिएको उनले बताए । ‘शल्यक्रीया गरेर कुहिनाको गोली निकाल्न खोज्दा एक ठाउँबाट अर्को ठाउँमा सर्दो रहेछ,’ उनले भने, ‘एक्सरे गर्दा एक ठाउँमा देखिन्छ, त्यहाँ चिर्दा, अर्को ठाउँमा सर्दोरहेछ । त्यही भएर निकाल्न नसकिएको हो ।’ दिउँसोदेखि भोलीपल्ट बिहानसम्म सरकारी सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भएकाले सो लडाई जनयुद्ध अवधिकै पुर्वकै ऐतिहासिक थियो । नेपालकै इतिहासमा पुर्वमा २०५८ साल मंसिर १० गते जनमुक्ती सेनाले सोलुखुम्बुको सल्लेरीमा नेपाली सेनामाथि पहिलो पल्ट आक्रमण गरेको थियो ।
उसबेला धिरेन खोटाङ र भोजपुरको जनमुक्ती सेना मिलाएर बनाइएको प्लाटुन कमाण्डर थिए । उनका भाईस कमाण्डर मणिकुमार राई बिजय थिए । पुर्वमा नेपाली सेनामाथि आक्रमण गर्ने पहिलो प्लाटुन उनी नेतृत्वकै थियो । उनको प्लाटुनसँगै पश्चिमबाट आएको अर्को प्लाटुनले पनि सँगै मोर्चा लडेको थियो । तर, सेनाको क्याम्प कब्जा गर्न सफल नहुँदा उनीहरु पुःन आक्रमण गर्ने योजनामा मैदान छाडेर फर्किएका थिए । ‘सो भिडन्तमा म घाईते भएँ, भाइस कमाण्डर बिजय गम्भीर घाईते हुनुभयो,’ बुढाथोकीले विगत सम्झिए, ‘हाम्रो प्लाटुनबाट भोजपुरको सागर र ज्योती तथा खोटाङको किसानले साहदत प्राप्त गर्नुभएको थियो ।’ सो भिडन्तमा धिरेनको एउटा गोली हत्केलाबाट छिरेर अर्कोतिर निस्किएको थियो ।
सोही मोर्चामा बमको छर्राले लाग्दा दायाँ करङमा छिरेको छर्रा अहिले पनि अड्किएर बसेको छ । ‘एक्सरे गरेर हेर्दा करङमा अड्किएको छर्रा अहिले पनि देखिन्छ, पुरै मासुले बेरेको अवस्था छ,’ उनले भने, ‘डाक्टरले अशर गरेको छैन भने ननिकाल्नु भन्ने सल्लाह दिएको छ । छर्रा निकाल्दा हड्डी खुर्कनुपर्ने हुन्छ । त्यो हड्डी पलाउन समय लाग्ने भएकाले छर्रा ननिकाल्नु भन्ने सुझाव छ ।’
बाहिरबाट हेर्दा चोट नदेखिए पनि, सहज हिँडडुल गरेको देखिए पनि नेकपा नेता धिरेनले शरीरमा बमका छर्रा र गोली बोकेर हिँडिरहेको पाटो कमैलाई जानकारी छ । भूमीगत भएर राज्यबाट जोगिँदै जनयुद्धको विभिन्न जिम्मेवारी सम्हालेका धिरेन शरीरमा द्धन्द्धकालिन चोट बोकेका एउटा जीवित इतिहास हुन् ।
ध्रुब बुढाथोकी ‘धिरेन’
१३ वर्षमै विद्यार्थी संगठनमा संगठित
धिरेन २०३० साल असोज १९ गते बाबु टंकबहादुर बुढाथोकी र आमा धनकुमारी बुढाथोकीको पहिलो सन्तानकारुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा जन्मिएका हुन् । उनी सामान्य पारिवारिक अवस्थामा हुर्किएका हुन् । उसबेला पञ्चायती व्यवस्था थियो । उनी जन्मेको साविकको दोर्पाचिउरीडाँडा–२ मा भने बामपन्थीको बर्चस्व थियो । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन ८ वटा वडामा कांग्रेसले जित्दा पनि साविकको दोर्पाचिउरीडाँडा–२ मा वामपन्थी (एमाले)ले जित्नु चानचुने कुरा थिएन ।
धिरेन कलिलो उमेरदेखि नै वामपन्थी निकट बिद्यार्थी संगठनमा आवद्ध भए । ‘पञ्चायत भनेको राजतन्त्र र कम्यूनिष्ट भनेको जनतालाई समान अधिकार दिने शासन हो’ भन्ने उनको बुझाई थियो । त्यही बुझाईले धिरेन दोर्पाको विद्योद्धय माबिमा अध्ययन गर्नेक्रममा तत्कालिन नेकपा मशाल निकट अनेरास्ववियु छैठौंको प्राकमा संगठित भएका थिए ।
२०४३ सालमा १३ वर्षकै उमेरमा उनले ईकाई कमिटिको सचिव बनेर राजनितीक यात्रा सुरु गरेका थिए । गाउँमा बामपन्थीको बर्चस्व भए पनि छैठौंको अवस्था नाजुक थियो । सो संगठनमा उनी सहित केही जना बिद्यार्थी मात्र संगठित थिए । उनीहरुलाई नेतृत्वको हिसावले सोही ठाउँका ठूलकुमार श्रेष्ठ (जनयुद्धमा हत्या गरिएको)ले गाईड गर्ने गरेका थिए । ‘कम्यूनिष्टलाई परिवर्तनको सम्बाहकका अर्थमा बुझियो, दोश्रो कुरा वरतिर–परतिरका धेरैजसो छरछिमेकीहरु पनि वामपन्थी थिए,’ उनले भने, ‘यस हिसावले पनि वामपन्थीप्रति नै अभिरुची भयो र यसैप्रति प्रेरित हुने वाताबरण बन्यो ।’
अध्ययनकाक्रममा धिरेन दोर्पाबाट २०४३ सालपछि सरस्वती माबि दिक्तेलमा पुगे । प्रशासनसँग नजिक भएकाले उनको संगठनात्मक गतिविधिमा पनि कमी आए । नेतृत्वसँग सम्पर्क टुट्यो । संगठनात्मक गुमराहकाबीचमा उनले एलएलसि दिए । राजनैतिक सुझबुझ पनि बढ्न थाल्यो । २०४६ सालको जनआन्दोलनको धेरथोर प्रभाव पनि उनमा पर्याे ।
राजनैतिक निकटताका नाताले २०४८ सालको संसदीय निर्वाचनमा उनीहरुले तत्कालिन एमालेलाई सघाए । एमालेका उम्मेदवारले जिल्लाको तीन वटै सिटमा जित्यो पनि । तर, जीतपछिको केही घट्ना उनका लागि अविस्मरणीय छन् । ‘निर्वाचनको परिणाम आइसकेपछिका घट्नाहरुले तितो अनूभुती गरायो र अझ वामपन्थी राजनितीमा लाग्न उत्प्रेरित गर्याे, उत्साह पैदा गरायो,’ धिरेनले भने, ‘कांग्रेसले हारेपछि बन्दुक उठाएर खेदाखेद गर्ने अवस्था बन्यो । हारेको निराशामा कांग्रेसले मेरा काका र दाजुहरुमाथि एक्सन गर्न पछि परेनन् । तर, हामीले निडरताका साथ सामना ग¥यौँ । त्यस घट्नाले वामपन्थी जुझारु हुनुपर्छ, संघर्षशिल हुनुपर्छ र परिवर्तनप्रति हलचल गर्नु हुँदैन भन्ने कुरामा अभिप्रेरित ग¥यो ।’
भारतीय सेनाबाट बिद्रोह
धिरेन उमेरले र विचारले परिपक्व बन्दै थिए । गाउँघरमा लाहुरे हुने लहर र लहड चलेको थियो । सामान्य परिवारमा जन्मेका कारण उनमा पनि परिवारका लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुन थालेको थियो । त्यही कारण उनी लाहुरे भिड्न दार्जिलीङसम्म पुगे । २०४८ सालको निर्वाचनपछि लाहुरेकै चक्करमा पुःन गोरखपुर पुगे । २०५० सालमा लाहुरे भिडेर भर्ती पनि भए । तर, उनको लाहुरे जीवन लामो समय टिकेन । ६ महिनामै बिद्रोह गरेर लाहुरे जीवनबाट बाहिरिए । ‘लाहुरे नछाडेका भए अहिलेसम्ममा पेन्सन पनि हुन्थ्यो होला ।
तर वामपन्थी विचार प्रतिविम्वित भएपछि मान्छेले अन्याय सहन सकिदो रहेनछ,’ उनले भने, ‘इन्डियाको लाहुरे त भएँ, तर त्यहाँ हुने अन्याय सहन सकिएन र बिद्रोह गरियो ।’ लाहुरेमा बिद्रोह गरेपछि उनी राजधानी नयाँदिल्ली पुगे । उनको क्रियासिल राजनिती त्यहीबाट सुरु भएको हो । तत्कालिन समयमा २०४८ सालमा नेकपा मसाल, नेकपा मशाल, नेकपा चौम र श्रमिक संगठनको पार्टीएकता पछि नेकपा एकता केन्द्र बनेको थियो । त्यस पार्टीको भारतमा नेपाल भारत एकता समाज क्रियासिल थियो ।
उनले प्रवासमा रहेकैबेला २०५० सालमा त्यही समाजमा संगठित भएर काम सुरु गरे । २०५१ सालमा सो पार्टीमा बिभाजन आयो । एउटा पार्टी नेकपा माओबादी बन्यो र एउटा एकता केन्द्र नै रह्यो । बिभाजनपछि धिरेनले नेकपा माओबादी निकट प्रवास संगठनमा बसेर काम सुरु गरे । नेपालमा २०५२ साल फागुन १ गतेबाट सामन्तबादी, केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाका बिरुद्ध माओबादीले जनयुद्धको घोषणा गरे । त्यो घोषणाको तरंग प्रवासमा पनि पुग्यो । र, २०५३ सालमा नेपाल फर्किए । नेपाल फर्केपछि पार्टीको सम्पर्कमा पुग्न निकै समय लागेको उनी बताउँछन् ।
खोटाङमा तत्कालिन नेकपा माओबादीको सम्पर्कमा पुग्ने माध्यम तीन जना ठूलकुमार श्रेष्ठ, दिलकाजी कार्की र देबी आचार्य थिए । ‘दिलकुमार खड्का, धनप्रसाद सुबेदी पनि हुनुहुन्थ्यो । तर, उहाँहरु इन्टर्नल हिसावले हुनुहुन्थ्यो । आउट्ली मोबिलाइजेसनका हिसावले मैले चिनेका दुई जना मात्र हुनुहुन्थ्यो,’ धिरेनले भने, ‘केही सुत्रमार्फत ठूलकुमारलाई भेटेँ । मैले खुला तरिकाले नै पार्टीको काम गर्ने सल्लाह अनुशार छुट्यौँ । ठूलकुमार भूमीगत भएपछि उहाँसँग एक पटक मात्र भेट भयो ।’
भारतमै रहेका अवस्थामा माओबादी राजनिती सुरु गरेका धिरेन २०५३ साल अन्तिममा तत्कालिन नेकपा माओबादीमा संगठित भए । उसबेला जनमुक्ती सेना जन्मिएकै थिएन । सुरक्षा दल थियो । तिनै सुरक्षा दलको खोटाङ जिल्ला कमाण्डर र पार्टीको एरिय कमिटिमा आवद्ध भएर काम सुरु गरेका थिए । ‘त्यो जिम्मेवारीले राजनितीक यात्रा तय गर्न मद्धत गर्याे, आत्मबल प्रदान गर्याे र उत्साह प्रदान गर्याे,’ उनले भने, ‘त्यो पद नै मेरो राजनैतिक बेस हो । राजनैतिक यात्राको सफल कडीकारुपमा सावित भयो ।’
२०५६ सालमा भूमीगत
तत्कालिन अवस्थामा माओबादी सबैका लागि हाउगुजी थियो । उनका परिवार पनि त्यसबाट अछुत रहन सकेको थिएन । ‘माओबादीमा हिँड्नु भनेको एक किसिमले मर्न हिँड्नु हो’ भन्ने बुझाई थियो । कुनै पनि परिवारले आफ्दो सदस्य ‘मर्न जाओस्’ भन्ने चाहन्न । त्यस हिसावले परिवारलाई ‘कन्भिन्स’ गर्न धिरेनलाई निकै सकस पर्याे । आमा ‘कन्भिन्स’ हुँदा बाबु ‘कन्भिन्स’ भएनन् । सामान्य समर्थनमा मात्र ल्याइए । पार्टीको खुला गतिविधिमा काम गरिरहेको अवस्थामा अन्ततः उनी २०५६ सालमा भूमीगत भएका थिए । बाबुआमालाई सम्झाउनमा सहकर्मी मोहनप्रसाद गौतम कुमार, पुण्यबहादुर मगर हिरण्य र दिलकाजी कार्की अर्जुनको पनि महत्वपूर्ण योगदान छ ।
खुला राजनिती गरिरहेको अवस्थामा उनलाई तत्काल भूमीगत हुनुपर्ने धेरै कारण छन् । सुरक्षाका कारणले एउटा व्यानर लेख्नै जोखिम मोल्नुपर्ने अवस्था थियो । दिक्तेलको रत्नपार्कको घरको माथिल्लो कोठाभित्र डम्बर हम्रुङ (पत्रकार) व्यानर लेख्थे, राप्रपा नेपालका नेता जीवन श्रेष्ठ ढोकामा ड्यूटी बसिरहन्थे । सुतीरहेकाबेला प्रहरीले घर घेरा हाल्न थालेपछि र जोतिरहेकाबेलामा प्रहरी सोधपुछ गर्न थालेपछि उनी भूमीगत भएको बताउँछन् । ‘एक पटक खाँदाखाँदै भाग्नु पर्याे, जोतिरहेकै ठाउँबाट भाग्नु पर्याे । सुतेको ठाउँबाट घेरा तोडेर भाग्न पर्याे,’ उनले भने, ‘प्रशासनको निगरानीमा परेपछि भूमीगत भइयो ।’
मिलिसियादेखि बिग्रेड कमाण्डर
भूमीगत हुँदा धिरेन खोटाङको मिलिसिया भाइस कमाण्डर थिए । पार्टीको एरिय कमिटिमा छँदैथिए । तर, २०५७ सालमा उनको भूमीका फेरियो । उनलाई जनमुक्ती सेनातर्फ लगियो । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु मिलाएर ३३ जनाको प्लाटुन बनाइएको थियो । सो प्लाटुनमा खोटाङको प्रतिनिधित्व गर्दै धिरेन २०५७ साल चैत २२ गते जनमुक्ती सेनाको फर्मेसनमा सोलुखुम्बुतर्फ लागे । २०५८ मा दोलखाको मैनापोखरीमा शसस्त्र प्रहरीमाथि उनी सम्वद्ध प्लाटुनले आक्रमण गरेको थियो ।
त्यहाँबाट फर्केपछि सेनाको नयाँ फर्मेसन तयार हुँदा धिरेन २०५८ सालमा जनमुक्ती सेनाको सेक्सन कमाण्डर भए । त्यसपछि रामेछापको धोबी, ओखलढुंगाको खानीभञ्ज्याङ लगायतका मोर्चामा लडे । सरकारसँगको पहिलो चरणको वार्ताकाक्रममा खोटाङ र भोजपुरको जनमुक्ती सेनाको छुट्टै प्लाटुन तयार पारियो । जसको कमाण्डरको जिम्मा धिरेनले पाए । भाइस कमाण्डर मणिकुमार राई विजय थिए । त्यही प्लाटुनले २०५८ साल मंसिर १० गते सोलुखुम्बुको सल्लेरीमा ऐतिहासिक मोर्चा लडेको थियो ।
पुर्वमा सेनामाथि आक्रमण गर्ने उनकै प्लाटुन थियो । सो भिडन्तमा पश्चिबाट आएको अर्को प्लाटुनले पनि लडेको थियो । नेपाली सेनाको क्याम्प पूर्ण कव्जा सक्सेस नभएपछि जनमुक्ती सेना फर्किए । त्यसपछि जनमुक्ती सेनाको नयाँ संरचना बनाउनेक्रममा तीन कम्पनी बनाइए । त्यसमध्ये २०५८ मंसिरदेखि उनी एउटा कम्पनीको भाईस कमाण्डर बने । १०५ जना सेना समावेश सो कम्पनीको कमाण्डर सिन्धुपाल्चोकका मुक्ती भए ।
सल्लेरीपछि २०५८ साल चैतमा संखुवासभाको चैनपुर आक्रमण गरिए । चैनपुरपछि पुःन बटालियन फर्मेसन तयार पारियो । पुर्वमा दुई वटा बटालियन बनाइएकामा २०५९ साल बैसाखमा धिरेन छैठौं बटालियनको कम्पनी कमाण्डर भए र विभिन्न मोर्चा सम्हाले । ‘म कम्पनी कमाण्डर थिएँ, भाईस कमाण्डर किरण (निसान) हुनुहुन्थ्यो,’ उनले भने, ‘थुप्रै लडाई लड्यौँ । सिन्धुलीको भिमान, ओखलढुंगाको रुम्जटार त्यहीबेला लडेका हौँ ।’
२०५९ सालमै माओबादी शैन्य संरचना पुःन ब्रिगेडमा रुपान्तरण गरियो । ब्रिगेड बनाउँदा धिरेन बटालियन कमाण्डर भए । उनका भाईस कमाण्डर निसान नै बने । उनी बटालियन कमाण्डर छँदा २०६० साल फागुनमा खोटाङको ऐसेलुखर्कमा दोश्रो पटक आक्रमण गरियो । त्यो आक्रमण पुर्वकै ऐतिहासिक लडाई थियो । सो भिडन्तमा उनी गम्भीर घाईते भएँ । वायाँ मेरुदण्डबाट लागेको गोलीले दायाँ करङ भाँच्दै दाहिने कुहिना छेडेर बाहिरिएको थियो ।
जनमुक्ती सेनाको संरचना परिवर्तनको क्रम जारी थियो । सेनाको फर्मेसन अपग्रेड गर्नेक्रममा ब्रिगेडलाई डिभिजन बनाउने तयारी भयो । यसैक्रममा २०६० सालमा धिरेन ब्रिगेडियर भाईस कमाण्डर भए । उसबेला उनका कमाण्डर बाँसुदेव घिमिरे पावल (समायोजनमा नेपाली सेनामा गएको) थिए । बिग्रेडको संरचना बिकास भएपछि राज्यमाथिको आक्रमण केन्द्रिकृत हुन थाले । उनी ब्रिगेड भाईस कमाण्डर रहेकै समयमा बन्दीपुर लडाई भयो ।
बन्दीपुरबाट फर्केर आउँदा उनको मोर्चा सिन्धुलीको मझुवा, सिन्धुलीकै जरायोटार लगायतका लडाई लडेका थिए । २०६१ को सुरुमा उनी बिग्रेड कमाण्डरमा अपग्रेड भए । विप्लव सिर्जन स्मृति ब्रिगेडको कमाण्डर भए लगत्तै धिरेनले भोजपुरको जरायोटार भिडन्तको मोर्चा सम्हाले । ‘जरायोटारको मोर्चा लडेपछि धनकुटा आक्रमण गर्याे। धनकुटा एक्सनपछि ईलाम सदरमुकाम आक्रमण गर्याे । ईलामको सदरमुकाम आक्रमणपछि धरानको भानुचोक आक्रमण, त्यसपछि विर्तामोड, काँकडभिट्टा र उर्लाबारी आक्रमण गर्याे,’ धिरेनले भने, ‘उर्लाबारीमा खोटाङकै च्यास्मीटारका विधान (जीवन राई संगीनका भाई)ले सहादत प्राप्त गरे । त्यसबेलासम्ममा १९ दिने जनआन्दोन पनि सुरु भइसकेको थियो ।’
संबिधानसभाको निर्वाचनपछि जिल्ला इन्चार्ज
जनआन्दोलन र शान्ति प्रकृयापछि जनमुक्ती सेनालाई क्यान्टोनमेन्टमा लैजाने तयारी भइरहेको थियो । राजनैतिक र सांगठनिक कामका लागि पार्टीले धिरेनलाई २०६३ सालमा युवा फर्मेसनमा ल्यायो । तत्कालिन अवस्थामा बनेको वाईसिएलको केन्द्रीय सचिवालय सदस्य र जनकपुर सगरमाथा व्यूरोको अध्यक्ष बनाइए ।
२०६४ सालमा वाईसिएलको कोचिला राज्य अध्यक्ष पनि बने । पार्टीमा पनि उनको जिम्मेवारी क्षेत्रीय व्यूरो सचिवालय सदस्य थियो । २०६४ सालको संविधानसभाको निर्वाचनपछि रामकुमार राई पासाङ र समिता कार्की अस्मिता निर्वाचित भएर गएपछि २०६५ साल बैसाख १ गतेबाट धिरेन इन्चार्ज बनेर खोटाङ फर्किएका हुन् ।
२०६९ सालमा पार्टीमा फुट आयो । उनी मोहन बैध किरणको समुहमा गए । फेरी २०७२ सालमा एकता गरेर जिल्ला इन्चार्जकै जिम्मेवारीमा फर्किए । बादल, मातृका यादव, मणी थापा लगायतका पार्टीसँग एकता गर्नेक्रममा सांगठनिक हिसावले पोलिटव्यूरो सदस्य र भौगोलिक हिसावले जिल्ला इन्चार्ज नै बने ।
देवान किराती पृथ्बी (हाल नेकपा खोटाङका अध्यक्ष) सह–ईन्चार्ज थिए । ‘केही समय पासाङ इन्चार्ज हुनु भयो, नत्र इन्चार्जको जिम्मा मैले नै पाएँ,’ उनले भने, ‘एमाले र माओबादीको एकतापछि भने प्रदेश कमिटि सदस्य छु ।’ अधिकांश जीवन जनयुद्धमा होमेका धिरेनले भूमीगत कालमै २०५९ सालमा वविता घिमिरेसँग विवाह गरे । बबिता पनि जनमुक्ती सेना, वाइसिएल, पार्टीको जिल्ला तथा राज्य कमिटि सदस्य थिईन् । हाल उनीहरुका दुई छोरी साधना बुढाथोकी र प्रशंसा बुढाथोकी छन् । माओबादीको साधारण सदस्यदेखि बिग्रेड कमाण्डर र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी सम्हाली सकेका धिरेन ईमान्दार, निडर, निस्वार्थ र स्वच्छ छबीका नेताकारुपमा चिनिन्छन् ।
(घाईते योद्धा प्रतिष्ठानद्धारा प्रकाशित नमेटिने घाउ नामक पुस्तकबाट साभार) प्रस्तुती:दमन राई