शनिवार, आश्विन १० २०७७
नेपाल वाइड
मनमायाँ राई खानीडाँडा विमानस्थलमा जहाज अवतरणपछि
खोटाङ । असोज १०, खोटाङको मनमायाँ राई खानीडाँडा बिमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ । कोभिड–१९ का कारण अवरुद्ध भएको बिमानस्थलमा शनिबार नेपाल वायु सेवा निगमको जहाजले उडान भरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने बिमानस्थलमा हरेक शनिबार र बुधबार उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन ईन्चार्ज नरेन्द्र राईले बताए ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो । जिल्लामा तीन वटा बिमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ ।
यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ । तर, जिल्लाकै पुरानो विमानस्थल लामीडाँडा बिमानस्थलमा उडानका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन ।
रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दैआएका छन् । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।
खानीडाँडा पुग्ने सडक हिलाम्मे
मनमायाँ राई खानीडाँडा विमानस्थल नियमित उडानका लागि तयार भए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ । विमानस्थलसम्म पुग्नका लागि प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम भइरहेको छ । तर, कालोपत्रेको काममा ढिलासुस्ती हुँदा र वर्षाका कारण हिलाम्मे हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको युवा व्यवसायी अजय बस्नेतले बताए । ‘विमानस्थल उडानका लागि तयार भएर मात्र पुग्दैन,’ व्यवसायी बस्नेतले भने, ‘विमानस्थल पुग्ने सडकको अवस्था नाजुक छ । सडकको स्तरोन्नतीमा ध्यान जान जरुरी छ ।’