आइतवार, आश्विन ११ २०७७
नेपाल वाइड
कोरोना कहरपछि विद्यालयमा आएका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका छात्र/छात्रा ।
खोटाङ । असोज ११, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठन–पाठनलाई सुचारु गराएको छ । कोरोना महामारीकाक्रममा अवरुद्ध पठन–पाठनलाई गाउँपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम सुचारु गराएको हो ।
गाउँपालिकाभित्रका ४८ विद्यालयमा आइतबारदेखि सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा सिफ्ट कायम गरेर विद्यार्थीको रोल नम्बरमा जोर/बिजोर प्रणाली अपनाएर सिकाई सहजीकरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
यस बाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल वस्ती सिकाई सहजीकरण अभियान कार्यविधि’ अनुशार गाउँटोल वस्तीमा सिकाई केन्द्र व्यवस्थापन गरी पठन–पाठन गर्न सकिने व्यवस्था मिलाइएको छ । कोरोना कहरका कारण लामो समयपछि विद्यार्थी विद्यालय पुग्दा उत्साहित देखिएका छन् । कुनै एक जनालाई कोरोना संक्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ ।
कोरोना कहरकैबीचमा पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पठन–पाठनलाई सुचारु गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै सिकाई सहजीकरणको व्यवस्था मिलाएको थियो ।
दिनानुदिन कोरोना भाइरसको संक्रमण बढिरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई मध्यनजर गर्दै सो सिकाई सहजीकरणलाई रोकेको गाउँपालिकाले पुःन पठन–पाठनलाई अघि बढाएको हो । ‘विद्यालयले आफ्नो अनुकुलमा बिहान, दिउँसो वा बेलुका सिफ्ट कायम गरेर पठन–पाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।
जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाई केन्द्रमा आउने व्यवस्था मिलाइएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई कक्षामा भौतिक दुरी कायम गरेर राखिने छ । भीडभाड हुने भएकाले टिफिन टाईम कटौती गरिएको छ ।’
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा दुई जनालाई मात्र राख्ने व्यवस्था गरिएको छ । विद्यार्थीको संख्या बढि भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाई केन्द्र स्थापना गरेर पठन–पाठनलाई सुचारु गराइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणीकुमार गिरीले बताए । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक अशर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि गाउँपालिकाले सिकाई सहजीकरणको विधि अपनाएको हो ।
शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो । हालसम्म सिकाई उपलव्धी शुन्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न ।
महामारी रहिरह्यो भन्दैमा सिकाई उपलव्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो ।’ गाउँपालिकाको असोज ९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुशार पठनपाठनलाई सुचारु गराउने निर्णय गरेको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सुचारु गराउने तयारी गरिरहेको छ ।