मंगलवार, आश्विन १३ २०७७
नेपाल वाइड
भीमसेन थापाको दुई सय वर्ष पुरानो त्यो चिट्ठी !
खोटाङ । असोज १३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुई सय वर्ष पुरानो कस्यरुक्का (चिट्ठी) फेला परेको छ । सरकारी भारी, जंगी कामकोष, खजना, सोरातोडा र बिरामी बोक्नका लागि बिक्रम सम्बत १८७३ साल पुस ९ गते शुक्रबार तत्कालिन जनरल भीमसेन थापाले बाम्राङका स्थानीयलाई पठाएको पत्र फेला परेको हो ।
तत्कालिन राज्य सञ्चालनकाक्रममा बाम्राङका २२ घर स्थानीयलाई पठाइएको सो पत्र हाल स्थानीय युगसन किरातसँग सुरक्षित छ । चिट्ठीमा पुर्वबाट काठ्माण्डौं पठाइएको भारी, जंगी कामकोष, खजना, सोरातोडा र बिरामी तथा काठ्माण्डौंबाट पठाइएको भारी भीमसेन थापाको दस्तखतमा एकछिन ढिला नगरी अर्को अम्बल (जग्गा)मा पुर्याउन भनिएको छ । सो पत्र बाम्राङका रत्नबीर, हर्कवली, रिङाजित, गुमाजित, भिलसिं, बुपाबिर, जत्न्य, बर्नासिं, रघुसिं, रत्नसिं, आसमली, बलिकरना, जितनसिं, गाइन्य, रंन्य, गज्य, अदिकर्ना, साषाबिर, जस्ना, दिगजित, सार्किरदेउ र थुव्य राईको नाममा पठाइएको थियो । ओसार–पसारका लागि हुलाकीमा दरिएका रिङाजित र गुमाजित आफ्नै पुर्खाहरु भएको किरात बताउँछन् ।

भीमसेन थापाले बाम्राङका २२ घरलाई पठाइको कस्यारुक्का (चिट्ठी) । तस्बिर:युगसन किरात
भारी बोक्नका लागि हुलाकमा दरिएका २२ घरलाई साउनेफगु, झारा, बेठबेगार मिनाहा गरिएको पत्रमा उल्लेख छ । तर, तोकिएको सामान कहाँबाट कहाँ पुर्याउने भन्ने चिट्ठीमा खुल्दैन । रणजोर थापामार्फत पठाइएको चिट्ठीमा अमालिलाई हुलाकमा दरिएका परिवारबाट साउनेफगु, झारा, बेठबेगार नलिन आदेश गरिएको देखिन्छ । चिट्ठीमा बीना लालमोहर दस्तखत नभएको पुरोहित, चौतरिया, काजी, सरदार, सुव्वा, सुविदार, जमदार, हुदा, सिपाही कसैका भारी नबोक्न भनिएको छ ।
कसैले दरबारको भारी भनेर ढाँटेर भारी बोकाएमा राजालाई विन्ती पठाउन भनिएको छ । उसबेला सरकारको काम जनताले निःशुल्क गर्न पथ्र्यो । तत्कालिन समयका तालुकदार र जिम्मेवालमार्फत सरकारले जनतालाई काम लगाउँथे । सोहीक्रममा भीमसेन थापाको पत्र बाम्राङ आइपुगेको अनुमान छ ।
द्धन्द्धकालमा घरमा भएका अधिकांश पुरानो कागजात जलाइए पनि भीमसेन थापाले पठाएको पठाएको पत्र संयोगवस जोगिएको अवस्थामा फेला परेको किरात बताउँछन् । ‘जनयुद्ध कालमा गाउँमा पटक–पटक नेपाली सेनाको गस्ती आउँथ्यो, सोधपुछमा पर्ने डरले घरमा भएको पुरानो कागजात जलाइएछ,’ किरात राई यायोक्खाका सचिव रहेका किरातले भने, ‘संयोगले एउटा चिट्ठीचैं बचेको रहेछ । अहिले यसलाई सुरक्षितसाथ राखेको छु ।’
भीमसेन थापाको ऐतिहासिक चिट्ठीलाई संरक्षणका लागि २०७५ साल माघमा प्रकाशित ‘रिलुङ’मा दस्तावेजीकरण गरिसकिएको छ । गाउँघरमा रहेका ऐतिहासिक कागजातको खोजी र संरक्षणमा हालसम्म कसैको ध्यान जान सकेको छैन । गाउँघरमा पुर्खाको मृत्युुसँगै पुरानो कागजात डढाउने प्रचलनका कारण ऐतिहासिक दस्तावेज नष्ट भइरहेको मुन्दुम अध्येता भोगीराज चाम्लिङले बताए ।
भीमसेन थापाले बाम्राङका २२ घरलाई पठाइको कस्यारुक्का (चिट्ठी) । तस्बिर:युगसन किरात