Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला : सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा गृहको चासो

    साकेला : सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा गृहको चासो


    • बुधवार, आश्विन १४ २०७७

    • नेपाल वाइड


    साकेला : सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा गृहको चासो
    साकेला गाउँपालिका खोटाङ ।

             खोटाङ । खोटाङको साकेला गाउँपालिकामा मृत्यु भइसकेका व्यक्तीको नाममा सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको विषयमा गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चासो देखाएको छ । साकेला गाउँपालिका–४ मात्तिममा मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा ‘फेक डकुमेन्ट’ बनाएर एउटै व्यक्तीको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको समाचार बाहिरिएपछि गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चासो देखाएको हो ।

           मृत्यु भइसकेका तथा एउटै व्यक्तीको नागरिकता प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको विषयमा छानबीन गर्न र सत्यतथ्य बाहिर ल्याउनका लागि गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार गाउँपालिकालाई पत्राचार गरेको छ । छानबिनकाक्रममा राज्यको सम्पत्ती दुरुपयोग भएको ठहर भएमा दुरुपयोग भएको सम्पूर्ण रकम असुल गरी कानून बमोजिम कारबाहीका प्रकृया थाल्न र सात दिनभित्र सोको जानकारी बिभागलाई गराउन पत्रमा भनिएको छ ।

           ‘उक्त कार्यमा अनियमितता गर्ने जनप्रतिनिधि र कर्मचारी समेतको मिलेमतो रहेको भन्ने विषयमा वास्तविकता के हो ? अन्य वडा कार्यालयमा समेत कस्तो अवस्था रहेको छ ?,’ पत्रमा भनिएको छ, ‘छानविन गरी कसुरदार ठहरिएमा त्यसरी दुरुपयोग गरेको सम्पूर्ण रकम असुल उपर गरी कानून बमोजिम कारबाहीका लागि तत्काल प्रकृया अगाडि बढाउन र सोको जानकारी सात दिनभित्र यस बिभागमा गराउन हुन अनुरोध छ ।’ गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनियमितता भएको भनिएका चार जनाको नामा समेत उल्लेख गरेको श्रोतले जनाएको छ ।

           सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितताको विषय सामाजिक सुरक्षा ऐन २०७५, सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि २०७५ विपरित तथा भ्रष्टाचारजन्य कसुरमा पर्ने बिभागले जनाएको छ । गृह–मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाल सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्तालाई तत्काल बैंकिङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध छ ।

            यता साकेला गाउँपालिकाले मृत्यु भइसकेका तथा ‘फेक डकुमेन्ट’ बनाएर एउटै व्यक्तीको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर राज्यको रकम दोहन भइरहेको विषयमा छानविन थालेको छ । मात्तिममा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भइरहेको खबर सार्वजनिक भएपछि बुधबार गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्कालाई छानविन गरेर १५ दिनभित्र सत्यतथ्य प्रतिबेदन पेश गर्न जिम्मेवार दिइएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार)ले बताए ।

            उपाध्यक्ष खड्कालाई मात्तिम बाहेक अन्य चार वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको यतार्थ प्रतिबेदन पनि २५ दिनभित्र पेश गर्न भनिएको अध्यक्ष खड्काले बताए । अन्य वडामा समेत नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको पाइएको श्रोतले जनाएको छ । मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भने पत्रकार सम्मेलन गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा आफ्नो संलग्नता नरहेको दावी गरेको छ ।

          वडाको सम्पूर्ण आर्थिक एबं प्रशासनिक काम कारबाहीमा जनप्रतिनिधिको प्रत्यक्ष भूमीका नरहने भएकाले सामाजिक सुरक्षाभत्ता अनियमिततामा राजनैतिक पुर्वाग्रह राखेर आफुलाई मुछ्ने काम गरिएको भट्टराईको भनाई छ । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तीको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले सो अनियमितता रोक्न अभियान थालेको थियो ।

    सम्बन्धित समाचार