Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप

    सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप


    • बिहिवार, आश्विन १५ २०७७

    • नेपाल वाइड


    सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप

            खोटाङ । असोज १५, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक विस्तार कार्यक्रमको जिम्मा लिएको ब्लक बिकास समितिका अध्यक्ष र सचिवमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । कृषि ज्ञान केन्द्रमार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा सुन्तला ब्लक बिस्तारको जिम्मा लिएको सुन्तला ब्लक बिकास समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईमाथि कार्यक्रमको रकम हिनामिना गरेको आरोप लागेको हो ।

            तीन वडालाई समेटेर सुन्तला ब्लक क्षेत्र विस्तारका लागि आर्थिक वर्ष २०७६/०७७ मा ज्ञान केन्द्रले उपलव्ध गराएको ३५ लाख बजेटमध्ये १२ लाख हिनामिना भएको पाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि ज्ञान केन्द्रमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण पयिोजनाको ३५ लाख र कृषकको ३५ लाख गरि ७० लाखमा सुन्तला ब्लक बिकास कार्यक्रम लागु गरिएको थियो ।

           ज्ञान केन्द्रबाट प्राप्त हुने कुल बजेट ३५ लाखमध्ये निकासा भएको २८ लाख ४ हजारभित्र सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले अनियमितता गरेको दाबी गरिएको छ । ज्ञान केन्द्रबाट गत असार ३१ गते बजेट निकासा भए पनि मल खरिद तथा सुन्तला रोप्नका लागि खाल्डो खनेका किसानले हालसम्म रकम नपाएपछि सुन्तला ब्लक सञ्चालन समितिका अध्यक्ष र सचिव आर्थिक अनियमिततामा मुछिएका हुन् ।

           गत असोज १३ गते भएको छलफलमा सुन्तला ब्लक बिकास समितिका अध्यक्ष राईले १० दिनभित्र किसानलाई मल खरिद एबं खाल्डो खनेवापतको रकम वितरण गर्ने लिखित निर्णय भएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘सुन्तला ब्लकले समेटेका वडाका किसान र सञ्चालन समितिलाई छलफलमा राखेका थियौँ । छलफलमा १२ लाख अनियमितता भएको ठहर भएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘किसानले अहिलेसम्म मल किन्ने र सुन्तला रोप्ने खाल्डो खने वापतको पैसा पाएकै छैन । सुन्तला ब्लक बिकास समितिका अध्यक्षले १० दिनभित्र त्यो पैसा किसानलाई वितरण गरिसक्ने भन्नु भएको छ ।’

            गाउँपालिका अध्यक्ष राईका अनुसार सुन्तला ब्लक विस्तारकाक्रममा कृषि ज्ञान केन्द्रले अन्तिम अनुगमन प्रतिबेदन भन्दा केही बढि रकम निकासा दिएको पाइएको छ । गत असार १४ र १५ गते अन्तिम अनुगमन गरेको गाउँपालिकाले रकम निकासाका लागि असार १७ गते सिफारिस दिएको थियो । सो अन्तिम अनुगमनमा कुल ७० लाखमध्ये ५५ लाख ९२ हजार बराबरको काम भएको मूल्यांकनका आधारमा २७ लाख ९६ हजार निकासाका लागि सिफारिस दिइएकोमा ज्ञान केन्द्रले २८ लाख ४ हजार निकासा दिएको गाउँपालिका अध्यक्ष राईले बताए । समितिले भौचर र भर्पाइ आफै बनाएर भुक्तानी लिएको गाउँपालिकाले जनाएको छ ।

           सुन्तलाको १३ हजार ७५० बिरुवा बाँड्ने स्टीमेट भए पनि समितिले १७ हजार ४५० बिरुवा खरिद गरेको जनाइएको छ । सुन्तला ब्लक विस्तारका लागि तीन वडाका कृषि समुहलाई समेटेर सञ्चालन समिति बनाइएको थियो । समितिका अनुशार सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालनकाक्रममा किसानले ५० प्रतिशत लागत सहभागीता वापतको रकम बेहोरेका छैनन् ।

            तर सुन्तला रोप्नका लागि किसानले खाल्डो खने । लागत सहभागीता अन्तरगतको पैसा नबेहोरेका तर बिरुवा रोप्ने खाल्डो खनेका किसानले ज्ञान केन्द्रबाट निकासा भएको रकम पाउनुपर्ने माग गरिरहेको बताइएको छ । सुन्तला ब्लक बिकास समितिका अध्यक्ष राईले भने कोभिड महामारीका कारण मल र खाल्डो खनेवापतको रकम वितरण गर्न नसकिएको बताए । ‘सुन्तला ब्लकको रकममा अनियमितता भएको होईन, त्यो रकम हामीसँग छ । किसानलाई वितरण गर्न बाँकी नै छ,’ राईले भने, ‘रकम वितरणमा ढिला भएको हो तर ढिलाइ हुनुका कारण छ । यसमा राजनैतिक दुरासय राखेर आक्रमण गर्ने काम भएको छ ।’ ब्लक बिकास समितिका अध्यक्ष राईले मल खरिद गरेर ल्याउने निर्णय भए पनि किसानलाई भड्काएर रकम नै माग्न लगाइएको दावी गरे । ‘किसानलाई नगद दिँदा सम्वन्धित ठाउँमा खर्च नहोला भनेर मल नै वितरण गर्ने निर्णय गरेका थियौँ । १७ टन मल पनि अर्डर गरेका थियौँ,’ राईले भने, ‘तर कोभिडका कारण ल्याउन सकिएन । लागत सहभागीताको योजना भए पनि यसमा किसानको ५० प्रतिशत लगानी छैन । श्रमदानमा खाल्डो खनेर त्यही ५० प्रतिशत लागत सहभागीता पुर्ती गरेका छौँ ।’

             कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले सम्झौता अनुशारको काम भएपछि सुन्तला ब्लक बिकास कार्यक्रमको रकम भुक्तानी दिएको बताए । ‘समितिले स्टीमेट अनुशार काम गर्‍याे । भर्पाई आफै बनाए वा सम्वन्धित व्यक्तीबाट बनायो त्यो थाहा भएन ।’ प्रमुख राईले भने, ‘भुक्तानी दिएपछि के–के गरे त्यो समिति नै जवाफदेही छ ।

            खाल्डो खनेको पैसा किसानलाई दिन बाँकी छ भन्ने सुन्नमा आएको छ ।’ कृषि व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा उपलव्ध गराएको बजेटबाट याम्खामा सञ्चालन गरिएको नमूना कृषि फर्म स्थापना सहयोग कार्यक्रममा योजना सम्पन्न नभै भुक्तानी दिएको र अन्तिम अनुगमन प्रतिबेदनभन्दा बढि रकम भुक्तानी दिएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए । यसले अन्य स्थानीय तहमा सञ्चालन भइरहेको योजनाको पारदर्शीतामाथि पनि प्रश्न उठाएको छ ।

    सम्बन्धित समाचार