बुधवार, आश्विन २१ २०७७
नेपाल वाइड
खोटेहाङ गाउँपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न छनौट गरेको स्वास्थ्यचौकी इन्द्रेणीपोखरीको भवन
खोटाङ । असोज २१, खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना संक्रमित भएको अवस्थामा संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थाका लागि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा ५ बेडको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो ।
भविष्यमा १५ शैयाको पालिका स्तरिय अस्पतालमा रुपान्तरण गर्नेगरी अस्थायी आइसोलेसन बेड स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । दिनानुदिन संक्रमितको संख्या बढिरहेको अवस्थामा गाउँपालिकाले संघीय सरकारको १० लाख अनुदानमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्न लागेको हो ।
कोभिड–१९ अस्थायी अस्पतालका लागि गाउँपालिकाले एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी नियुक्तीका लागि आवेदन खुलाएको जनाएको छ ।
महामारीमा स्थापना गरिएको कोभिड–१९ अस्थायी अस्पताल नै केही समयपछि १५ शैयाको अस्पताल रुपान्तरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकामा उल्लेख छ । कोभिड–१९ को संक्रमण दर बढिरहेका समयमा जिल्लाका स्थानीय तह अस्थायी कोभिड अस्पताल (आइसोलेसन) स्थापनामा जुटेका छन् ।
दिनानुदिन संक्रमितको संख्या बढिरहेको अवस्थामा जिल्लाका स्थानीय तह संघीय सरकारको सहयोगमा ५/५ बेडको अस्थायी कोभिड अस्पताल निर्माणमा जुटेको हो ।
हालसम्म दिप्रुङ चुईचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने र सोको लागि आवश्यक जनशक्तीका लागि आवेदन आव्हान गरिसकेको छ । यातायात खुलेपछि दशैं तिहारकाबेला संक्रमण दर बढ्ने खतरालाई मध्यनजर गर्दै हाल अधिकांश स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।