Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा सुरु

    हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा सुरु


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा सुरु

           हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडक एबं यातायात सेवा उद्घाटन गर्दै वृद्धा तुलसा बुढाथोकी

           खोटाङ । असोज २५, खोटाङको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडकमा यातायात सेवा सुरु गरिएको छ । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक (२७ किलोमिटर) निर्माण भएपछि हलेसी तुवाचुङ नगरपालिकाबाट खोटेहाङ गाउँपालिकाको रसुवाघाट आवत–जावत गर्ने बस सेवा सुरु गरिएको हो । स्थानीय तह कार्यान्वयनमा आउन अगाडि नै निर्माण सुरु गरिएको सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा पूरा गरेर यातायात सेवा सुरु गरिएको हो ।

            संघीय सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख र नगरपालिकाको गरी करिब डेढ करोडमा निर्माण पुरा गरिएको सडकमा आईतबारदेखि बस सञ्चालनमा ल्याइएको हो । भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीय वृद्धा तुलसा बुढाथोकीले एकैसाथ हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडक एबं हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा उद्घाटन गरेकी छन् ।

            हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले नै वृद्धा बुढाथोकीमार्फत सडक तथा यातायात सेवा उद्घाटन गराएका हुन् । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक गाईघाट–दिक्तेल सडक खण्डको रेग्मीटारमा जोडिएको छ ।

              गाईघाट–दिक्तेल सडकमा जोडिने भएकाले सो सडकमार्फत उदयपुर हुँदै अन्यत्र जान आउनका लागि छोटो बाटो खुलेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक बन्नुअघि हलेसीबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्ने घुमाउरो बाटो प्रयोग हुँदैआएको थियो । महुरे–बुईपा–बिजयखर्कभन्दा धितुङ–भाडबेँसी सडक झण्डै दोब्बरले छोटो पर्ने बताइएको छ ।

              स्थानीय सरकार आउनुअघि हलेसीबाट धितुङको हात्तीआहालसम्मको ट्र्याक खोलिसकिएको थियो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटले हात्तीआहालबाट रेग्मीटारसम्मको बाँकी खण्डको काम पुरा गरिएको मेयर राईले बताए । नगरपालिकाले हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडकलाई गौरवको योजनाको सूचीमा राखेको थियो ।

            सो सडकलाई पुरा गर्नका लागि नगरपालिकाले सुरुका वर्ष २७ लाख बजेट विनियोजन गरेको जनाएको छ । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक बनेपछि हाललाई दैनिक दुर्छिमबाट रसुवाघाटका लागि बस छुट्ने यातायात व्यवसायीले बताएका छन् । फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि हलेसीबाट सिधै गाईघाटसम्म यातायात सञ्चालन गर्ने बाटो खुल्ने छ ।

    सडक बनाउँदा कुलोमा क्षती

          हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक निर्माणकाक्रममा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सञ्चालित कुलोमा क्षती पुगेको छ । सडक निर्माणकाक्रममा झरेको ढुंगामाटो खस्दा धितुङको कटहरेपट्टिको खेततिर जाने कुलो र राजापानी भाडबेँसीपट्टिको खेततिर जाने कुलोमा क्षती पुगेको हो ।

         सडक खन्नेक्रममा पल्टिएको ढुंगामाटोले कुलो भत्केपछि भाडबेँसीपट्टिको खेत बाँझिएको छ । कुलोमा क्षती पुग्दा कटहरेपट्टिको खेत पनि बाँझिने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । यद्यपी कटहरेपट्टिको खेततिर जाने कुलो मर्मत गरिसकिएको मेयर राईले बताए । नगरपालिकाका अनुशार भाडबेँसीपट्टिको खेततिर जाने कुलोको पनि मर्मतको तयारी गरिएको छ ।

     

     

    सम्बन्धित समाचार