मंगलवार, आश्विन २७ २०७७
नेपाल वाइड
खोटाङ । असोज २७, यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवशर पाउने भएका छन् । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले आयोजना गरेको यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका विजेतालाई हङकङमा सञ्चालन हुने एलम्बर साँझमा प्रस्तुती गर्ने अवशर दिइने भएको हो ।
हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो । यलम्वर संगीत प्रतियोगिताका लागि दोश्रो पुरस्कार समेत प्रायोजन गरिदिएको किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र साम्पाङ राईले बताए ।
किरात राई कलाकार संघको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदैआएको यलम्वर संगीत प्रतियोगिता यसपल्ट कोरोना कहरका कारण अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन भइरहेको छ । पहिलो अडिसनबाट १० देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट ५० जना प्रतियोगी छनौट भएका छन् । आगामी शनिबार हुने दोश्रो अडिसनबाट ३० जना प्रतिष्पर्धी छनौट गरिने यलम्वर संगीत प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए ।
प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए ।
किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् । प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागीता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने छ ।