बुधवार, आश्विन २८ २०७७
नेपाल वाइड
जेसिभि प्रयोग गरेर लफ्याङको घिमिरेचोकदेखि दुभे–नर्कटे–दोखुम सडक मर्मत गरिँदै
खोटाङ । असोज २७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सडक मर्मतकाक्रममा उब्रिएको रकम पुःन सडक मर्मतमै खर्च गरिएको छ । लफ्याङको घिमिरेचोकदेखि दुभे–नर्कटे–दोखुम सडक मर्मतका लागि शहरी बिकास मन्त्रालयबाट निकासा भएको १७ लाख २३ हजार बजेटमध्ये १ लाख १४ हजार रकम बचेको र बचेको रकमलाई पुःन सोही सडक मर्मतमा खर्च गरिएको हो ।
साँढे पाँच किलोमिटर लम्बाई भएको सडक मर्मतकाक्रममा एक लाखभन्दा बढि रकम उब्रिएपछि सडक मर्मत उपभोक्ता समितिको खातामा जम्मा गरेर पुःन सडक मर्मतमै खर्च गरिएको घिमिरेचोक–दुभे–नर्कटे–दोखुम सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष सन्दीप राईले बताए ।
सडक मर्मत उपभोक्ता समितिले गत जेठमा घिमिरेचोक–दुभे–नर्कटे–दोखुम सडकमा स्काभेटर लगाएर सम्याउने, जाली भर्ने, सोलिङ गर्ने लगायतका काम गरेका थिए । सडक मर्मतकाक्रममा बचेको रकमबाट पुःन जेसिभि प्रयोग गरेर असोज २५ गतेदेखि सोमबारसम्म सडक मर्मत गरिएको हो ।
जेठमा मर्मत गरिएको सडक यसबीचमा पुःन बिग्रे भत्केपछि बचेका रकम सोही सडक मर्मतमा उपयोग गरिएको समितिका अध्यक्ष राईले बताए । हाल उपभोक्ता समितिको आवरणमा पैसा कमाउने प्रवृत्ति बढिरहेको समयमा घिमिरेचोक–दुभे–नर्कटे–दोखुम सडक मर्मत उपभोक्ता समितिले रकम जोगाएन मात्र बचेका रकम पुःन सडक मर्मतमै खर्च गरेको हो ।
घिमिरेचोक–दुभे–नर्कटे–दोखुम सडक मर्मत, दिक्तेलको लुभुदेखि हाटडाँडा सिँढी निर्माण र पाथेकाको सडक स्तरोन्नतीका लागि शहरी बिकास मन्त्रालयबाट एउटै शिर्षकमा बजेट आएको थियो । एउटै शिर्षकमा बजेट आएपछि तीन वटै ठाउँका उपभोक्ता समितिलाई समेटेर मूल समिति बनाइएको थियो ।
मुल समिति बनाउनेक्रममा लफ्याङका सन्दीप राईले अध्यक्ष, दिक्तेलका बिनोद खड्काले सचिव र पाथेकाका दिनुका राईले कोषाध्यक्षको जिम्मेवारी पाएका थिए । एउटै शिर्षकमा तीन वटा योजनाका लागि बजेट प्राप्त भएकोमा लफ्याङको घिमिरेचोक–दुभे–नर्कटे–दोखुम सडक मर्मत उपभोक्ता समितिले भने एक लाखभन्दा बढि रकम बचाएको वडाध्यक्ष निर्मल राईले बताए । ‘काम गर्नेक्रममा उपभोक्ता समितिले लोभ गरेन । चाहेको भए यो पैसा खल्तीमा जान्थ्यो,’ वडाध्यक्ष राईले भने, ‘तर उपभोक्ता समितिमा बस्ने मान्छे इमान्दार भए राज्यको रकमको सही सदुपयोग हुने रहेछ भन्ने उदाहरण बनेको छ ।’