शुक्रवार, आश्विन ३० २०७७
नेपाल वाइड
उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल । तस्बिर : नेपाल वाइड
खोटाङ । असोज ३०, जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी सेवामा उत्कृष्ट कार्य गर्ने सात जना प्रहरीलाई पुरस्कृत गरेको छ । शान्ति सुरक्षा एबं अपराध नियन्त्रणकाक्रममा विभिन्न विद्यामा उत्कृष्ट काम गरेकामा ६५ औं प्रहरी दिवसको अवशरमा शुक्रबार ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरिक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरिक्षक भिमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरिक्षक देबेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको हो । प्रहरी काम कारबाहीकाक्रममा उत्कृष्ट काम गरेकामा उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । उत्कृष्ट प्रहरीलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पुरस्कार प्रदान गरेका छन् ।

अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई । तस्बिर : नेपाल वाइड
यस्तै, प्रहरी दिवसको अवशरमा तीन जना अमर प्रहरी परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी कमलादेबी आचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । अमर प्रहरी परिवारलाई प्रतिनिधिसभा सांसद बिशाल भट्टराई र संविधासभा सदस्य दुर्गाजयन्ती राईले सम्मान गरेका छन् ।

अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै संविधासभा सदस्य दुर्गाजयन्ती राई । तस्बिर : नेपाल वाइड
प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग बाणिज्य संघलाई प्रशंसा–पत्र प्रदान गरेको छ ।

प्रहरी दिवशका अबशरमा बाणिज्य संघलाई सम्मान–पत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ । तस्बिर : नेपाल वाइड
बाणिज्य संघलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र रेडक्रसलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई सम्मान–पत्र हस्तान्तरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल तस्बिर :नेपाल वाइड
यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिमपानीका रबिन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ । निःशुल्क जग्गादाता खड्काको अनुपस्थितिमा प्रतिनिधिसभा सदस्य भट्टराईको हातबाट बहिनी सुष्मा बुढाथोकीलाई कदर–पत्र प्रदान गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको प्रांगणमा भएको प्रहरी दिवसमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालय, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 
निःशुल्क जग्गादातालाई कदर–पत्र प्रदान गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई । तस्बिर :नेपाल वाइड