आइतवार, कार्तिक २ २०७७
नेपाल वाइड
खोटाङ । असोज २, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २७ हजार ८८८ रुपैयाँ बराबरको म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएको छ । दशैं तिहारलाई लक्ष्यीत गर्दै आइतबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा गरिएको बजार अनुगमनकाक्रममा भारी मात्रामा म्याद गुज्रेका खाद्य पदार्थ बरामद गरेर जलाएर नष्ट गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, ऐसेलुखर्क गाउँपालिका, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य संघ लगायतको टोलीले गरेको अनुगमनकाक्रममा सबैभन्दा बढि ४ हजार ८ सयको बब मसला बरामद भएको छ ।
यस्तै, ३ हजार ९९० रुपैयाँको जम्बो डिउ, ३ हजार ५ सयको चक्की आँटा, १ हजार ६ सयको सिटिसि चिया, १ हजार २ सयको टमाटर सस, १ हजार १२० रुपैयाँको दालमोठ लगायत बरामद भएको छ ।
अनुगमनकाक्रममा खाद्यान्न सामग्री लगायत पसलबाट म्याद नाघेका चक्की आँटा, पानीपुरी मसला, डिउ, मिरिण्डा, फेन्टा, मिट मसला, चिया, किचन किङ, कस्मिर मिर्च, सेञ्चुरी मसला, ग्लुकोज बिस्कुट, सुर्यमुखी तेल, रुबी चाउचाउ, चिरा सानो, ठूलो जिरा, निम्बुज, मिल्क बिस्कुट, अजिना मसला, स्लाइस, कोकाकोला, फरनदाना, मम मसला, लिची जुस लगायतका खाद्य सामग्री बरामद भएको अनुगमन टोलीले जनाएको छ ।
दशैंतिहारको बेलामा हुनसक्ने मूल्यावृद्धि, कालोबजारी, कृत्रिम अभाव, अखाद्यवस्तु, म्याद नघेका खान्वस्तुको किनबेच नियन्त्रणका लागि हाल विभिन्न स्थानीय तहमा बजार अनुगमन तिब्र पारिएको छ । गत असोज १७ गते दिक्तेलबजारमा गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका १६ हजार ८७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेर नष्ट गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा गरिएको बजार अनुगमनमा पनि भारी मात्रामा म्याद नाघेका सामान बरामद भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।