बुधवार, कार्तिक ५ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई गाउँमै सेवा सुविधा उपलव्ध गराउने लक्ष्यका साथ एकीकृत सेवा केन्द्र विस्तार गरेको छ । संघीयताको मर्म अनुशार हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको आहाले, पांग्रे र टाँकीटारका नागरिकलाई लक्ष्यीत गर्दै एकीकृत सेवा केन्द्र विस्तार गरेको हो ।
नागरिकलाई वडाकार्यालयबाट प्रवाह हुने सेवासुविधा आफ्नै गाउँमा पुगेर उपलव्ध गराउनेगरी नगरपालिकाले राजापानीको आहालेमा एकीकृत सेवा केन्द्र विस्तार गरेको जनाएको छ । आइतबार स्थानीय चइनकुमार राईकी छोरी प्रकृति राईलाई जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले एकीकृत सेवा केन्द्र उद्घाटन गरेका छन् ।
आवश्यक कर्मचारी खटाएर एकीकृत सेवा केन्द्रबाट हप्ताको एक दिन सेवा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । राजापानीको आहाले, पांग्रे र टाँकीटारका १२० घरभन्दा बढि स्थानीयको दुईदेखि तीन घण्टा पैदल हिँडेर वडाकार्यालय पुग्नुपर्ने वाध्यता अन्त्याका लागि एकीकृत सेवा केन्द्र स्थापना गरिएको मेयर राईले बताए ।
वडा कार्यालयको सेवा आफ्नो गाउँमै उपलव्ध हुने भएपछि स्थानीय उत्साहिन बनेका छन् । वडा कार्यालय टाढा पर्ने क्षेत्रका नागरिकलाई लक्ष्यीत गर्दै सेवा केन्द्रको अवधारणा अघि सारिएको नगरपालिकाले जनाएको छ । केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने मेयर राईले बताए । ‘वडा कार्यालयबाट प्रवाह हुने सबै सेवालाई वस्ती–वस्तीमा अर्थात जनताको घरदैलोमा पु¥याउने हाम्रो लक्ष्य हो,’ मेयर राईले भने, ‘ताकी जनताले सामान्य सेवाका लागि वडा कार्यालयसम्म धाउन नपरोस् । यसले संघीयताको खास अभ्यास र अनुभूती हुने अपेक्षा गरेका छौँ ।’
वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा जनताको घरदैलोसम्म पुर्याउने लक्ष्यकासाथ असोज २१ गते हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको थियो । ‘जनताको घरमा सरकार’ भन्ने नारालाई अनुभुती गराउनका लागि दशैं लगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि एकीकृत सेवा केन्द्र विस्तारको तयारी गरिएको छ ।
एकीकृत सेवा केन्द्रमा शहरी स्वास्थ्य केन्द्र पनि
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एकीकृत सेवा केन्द्र सँगै शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणको स्वास्थ्यमा पहुँच बिस्तारका लागि नगरपालिकाले एक जना अवेहको व्यवस्था गरेर राजापानीको आहालेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको हो । घण्टौं पैदल हिँडेर स्वास्थ्यचौकी पुगेर स्वास्थ्य सेवा लिइरहेका स्थानीयलाई लक्ष्यीत गरेर आहालेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको मेयर इवन राईले बताए ।
नेपाल सरकारको स्वीकृतिमा नगरपालिकाले परिवार नियोजन, खोप, क्षयरोगको औषधि, पोषण, स्वास्थ्य शिक्षा, झाडापखाला, निमोनिय लगायतका सेवा दिनेगरी शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको जनाएको छ ।
आवश्यकता अनुशार शहरी स्वास्थ्य केन्द्रमा जनशक्ती व्यवस्था गरिने मेयर राईले बताए । असोज २२ गतेको नगरकार्यपालिकाको बैठकले तीन स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय गरेर अनुशार शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।