Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दानवीर कृषिविज्ञ राई

    दानवीर कृषिविज्ञ राई


    • बुधवार, कार्तिक ५ २०७७

    • नेपाल वाइड


    दानवीर कृषिविज्ञ राई
    महिला बालबालिका पुःर्नस्थापना केन्द्रको सम्मान ग्रहण गर्दै कृषिविज्ञ मदन राई

             खोटाङ । कात्तिक ५, खोटाङका कृषिविज्ञ मदन राई हाल व्यवहारिक शिक्षाको अभ्यासमा तल्लिन छन् । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राई हाल विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने प्रयासमा ‘कुटोदेखि कम्प्यूटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउन समय खर्च गरिरहेका छन् ।

             कृषिविज्ञ राईको टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम् (शुभद्रा–मदन) फाउण्डेसन स्थापना गरेर पेशा, व्यवसाय र प्रविधि शिक्षामा समावेश गरिएका विषयवस्तुलाई व्यवहारिक रुपमा अभ्यास गराएर विद्यार्थीलाई ‘आफै गरिखाने नागरिक’ बनाउन प्रयासरत छन् । तर कृषि र व्यवहारिक शिक्षाको अभियानमा कहलिएका कृषिविज्ञ राईको परिचय जिल्लामा यत्तिमा मात्र सिमित छैन । उनको परिचय जिल्लाका दर्जनौं संघसंस्थालाई भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको रुपमा पनि छ ।

            कृषिविज्ञ राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा (रत्नपार्क किरातचोकभन्दा माथि) १० वटा संघसंस्था तथा कार्यालयलाई निःशुल्क जग्गा प्रदान गरिसकेका छन् । उनले हालसम्म एकैठाउँमा कित्ताकाट गरेर किरात राई यायोक्खा, नेपाल पत्रकार महासंघ, अपांग सेवा संघ, भुपु सैनिक संघ, महिला एकता अध्ययन केन्द्र, सेतो गुराँस जिल्ला बालविकास सेवा, सामुदायीक बन उपभोक्ता महासंघ, सामुदायीक सेवा केन्द्र, मानव अधिकारका लागि महिला एकल महिला जिल्ला समिति र खोटाङ बिकास मञ्चलाई निःशुल्क जग्गा प्रदान गरिसकेका छन् ।

            राईले निःशुल्क जग्गा उपलव्ध गराएका जग्गामा खोटाङ विकास मञ्च, यायोक्खा, भुपु सैनिक संघ, पत्रकार महासंघ, अपांग सेवा संघ, महिला एकता अध्ययन केन्द्र र सेतो गुराँस जिल्ला बालविकास सेवालाई जग्गा दिएको ठाउँमा महिला बालबालिका पुःर्नस्थापना केन्द्रको भवन निर्माण गरिसकिएको छ ।

           कतिपय संघसंस्थाको भवन निर्माणका लागि शिलान्यास गरिएको अवस्था छ । प्राप्त जग्गाको सबैभन्दा माथि यायोक्खाले भवन निर्माण गरेको छ । सोभन्दा तल क्रमश ः भुपु सैनिक संघ, महिला एकता अध्ययन केन्द्र, पत्रकार महासंघ र अपांग सेवा संघको भवन निर्माण गरिएको छ ।

            आवश्यकता र औचित्यका आधारमा उनले विभिन्न संघसंस्थालाई जग्गा उपलव्ध गराउँदै आएका छन् । संघसंस्थाको कार्यालयलाई एकठाउँमा केन्द्रित गर्नेगरी जग्गा प्रदान गरिएको कृषिविज्ञ राईले बताए । कच्ची सडक समेत विस्तार गरिएको सो क्षेत्रमा गार्डेन, सभाहल, घण्टाघर लगायतका संरचना बनाउने परिकल्पना छ ।

           भवन निर्माणका लागि निःशुल्क जग्गा दिएकामा महिला बालबालिका पुःर्नस्थापना केन्द्रले कृषिविज्ञ राईलाई सम्मान गरेको छ । मंगलबार आयोजित साधारणसभा तथा पुःर्नस्थापना केन्द्रको भवन उद्घाटनको अवशरमा जग्गादाता राईलाई सम्मान गरिएको हो ।

            उनलाई प्रतिनिधिसभा सांसद हिरा गुरुङले दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरेकी हुन् । कृषिविज्ञ राईले सम्मानकाक्रममा सम्मान–पत्र ग्रहण गरेपनि अबिर र दोसल्ला ओढ्न अस्वीकार गरेका थिए ।

    सम्बन्धित समाचार