बुधवार, कार्तिक ५ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकको हौसलाका लागि गाउँपालिकाले हरेक वडाका एक जना सबैभन्दा ज्येष्ठ बृद्ध र सबैभन्दा ज्येष्ठ बृद्धालाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक भेटघाट तथा अनुभव आदान–प्रदानकाक्रममा ७ वडाका सबैभन्दा ज्येष्ठ वृद्धबृद्धालाई दोसल्ला ओढाएर जनही एक थान रिसक, एक थान डसना, एक थान बेडसिट, एक थान सिरानी, एक बट्टा हर्लिक्स र एक वटा झुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
फरक–फरक मितिमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ९६ वर्षीय धनकुमारी राय, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ९२ वर्षीय मधुमायाँ खड्का, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ९५ वर्षीय जगतबहादुर बस्नेत र ९६ वर्षीय सन्तमायाँ राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ९२ वर्षीय अम्बरबहादुर जोगी र ९० वर्षीय अम्बमायाँ खड्कालाई सम्मान गरिएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ९१ वर्षीय जसबहादुर राई र ८५ वर्षीय चन्द्रकला थापा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ९१ वर्षीय विष्णुमायाँ भुजेल र ९० वर्षीय बुद्धिमान दर्जी तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ९१ सहरमान बिश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई लगायतले घरैमा पुगेर सम्मान प्रदान गरेका हुन् । याम्खाका सय वर्षीय हम्बरसिं राई भने हाल काठ्माण्डौं बसिरहेका कारण सम्मानबाट छुटेका छन् । दोश्रो बिश्वयुद्ध लडेको अनुभव संगालेका राई गाउँपालिकाभरीकै ज्येष्ठ नागरिक हुन् । यस्तै, कतिपय वृद्धबृद्धा उपचारकाक्रममा अन्यत्र पुगेका कारण सम्मानबाट छुट भएको गाउँपालिका अध्यक्ष राईले बताए ।