शुक्रवार, कार्तिक ७ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक ७, नेकपाको वडा कमिटिले खोटाङको ऐतिहासिक एबं पर्यटकीयस्थल जन्तेढुंगा परिषर सरसफाई गरेको छ । नेकपाको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कमिटिले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको सिमानामा रहेको जन्तेढुंगाको परिषर सरसफाई गरेको हो ।
नेकपाले दशैंको अवशरमा शुभकामना आदान–प्रदान गर्दै बिहिबार ऐतिहासिक एबं पर्यटकीयस्थल जन्तेढुंगाको सरसफाई गरेको हो । नेकपा वडा कमिटिले जन्तेढुंगा पुग्ने पदमार्ग एबं जन्तेढुंगाको आसपासमा भएका झाडी पन्छाएको जनाएको छ ।
रमणीय डाँडामा ठूलो क्षेत्र ओगटेको तथा विभिन्न आकृति देखिने बिशाल ढुंगालाई जिल्लाकै ऐतिहासिक तथा धार्मिकस्थलकारुपमा लिने गरिन्छ । गोल्मा राजा र गोल्मा रानीको किंवदन्तीसँग सम्वन्धित ढुंगामा जन्तीको आकृति देखिने भएकाले सो ढुंगालाई जन्तेढुंगा भन्ने गरिन्छ । भानुमतीको शिरमा रहेको जन्तेढुंगाकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो ।
सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । जन्तेढुंगा सरसफाई कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य एबं गाउँपालिका कमिटिका सह–ईन्चार्ज बिरबल किराती, जिल्ला कमिटि सदस्य सुमन राई, नेकपाका वडा कमिटि अध्यक्ष डिल्लीसेर राई, नेकपाका निर्वाचन क्षेत्रीय कमिटि सदस्य एबं निर्वाचित वडाध्यक्ष सुकदेव राई, वडासदस्य प्रकाश राई, नेकपा गाउँपालिका कमिटिका कार्यालय सदस्य शक्तीराज राई लगायतको सहभागीता रहेको थियो ।