Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एकल पुरुषलाई पनि मासिक भत्ता

    एकल पुरुषलाई पनि मासिक भत्ता


    • शनिवार, कार्तिक ८ २०७७

    • नेपाल वाइड


    एकल पुरुषलाई पनि मासिक भत्ता
    सांकेतिक तस्बिर

          ओखलढुंगा । खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

          सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले  वडाको बजेटबाट मासिक रु  ५०० आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

          यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक रु ५०० का दरले  भत्ता खान थालेका छन् ।  वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्तावापत रु ६ हजार वितरण गरिसकेको छ । खिजीदेम्बा –४ मा १५  एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । 

          साठी वर्षमुनिका एकल पुरुष आफै सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । सत्तरी वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।

         सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुशी लागेको र सो रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताए । अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

         खिजीदेम्बा –४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आएका छन् । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उनीबाट भएको छ  । 

        वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् । रासस

    सम्बन्धित समाचार