Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    होम आइसोलेसनमा बसिरहेको अवस्थामा जिसस प्रमुखलाई मातृशोक

    होम आइसोलेसनमा बसिरहेको अवस्थामा जिसस प्रमुखलाई मातृशोक


    • सोमवार, कार्तिक १७ २०७७

    • नेपाल वाइड


    होम आइसोलेसनमा बसिरहेको अवस्थामा जिसस प्रमुखलाई मातृशोक
    जिसस प्रमुख बबी चाम्लिङकी आमा जयमती राई 

           खोटाङ । कात्तिक १७, होम आइसोलेसनमा बसिरहेको अवस्थामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण जिल्ला समन्वय समितिकै क्वाटरमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा जिसस प्रमुख चाम्लिङको आमा जयमती राईको १०२ वर्षको उमेरमा निधन भएको हो ।

            बिक्रम सम्वत १९७५ साल भदौ १० गते (मतदाता नामावलीका अनुशार) जन्मिएकी जयमतीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित घरमा सोमबार बिहान ३.५५ बजे निधन भएको हो । नेकपाका प्रदेश कमिटि सदस्य रहेका चाम्लिङलाई कोरोना संक्रमण पूष्टी भएपछि होम आइसोलेसनमा बस्न थालेको नौ दिनपछि आमाको निधन भएको हो ।

          मृतक जयमतीका तीन छोरा छन् । जिसस प्रमुख चाम्लिङ परिवारका कान्छो छोरा हुन् । कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसिरहेका कारण चाम्लिङ आमाको अन्तिम दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन् । आमाको दाहसंस्कारमा दुई दाजु मात्र सहभागी भएका छन् । यद्यपी जिसस प्रमुख चाम्लिङ बिहान घरमा पुगेर सामाजिक दुरी कायम गरेर आमालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेर होम आइसोलेसनमा फर्किएका छन् ।

           होमआइसोलेसनमा बसिरहेको अवस्थामा आमा गुमाउनु परेको क्षणलाई चाम्लिङले आफ्नो जीवनकै सबैभन्दा ठूलो परिघट्ना भएको बताएका छन् । ‘जिल्लाकै इतिहासमा अकल्पनीय परिघट्ना बन्यो । अरुलाई यस्तो नपरोस्, सायद पर्दैन पनि,’ जिसस प्रमुख चाम्लिङले भने, ‘आमाको काजक्रियामा दाजुहरु मात्रै बस्दै हुनुहुन्छ ।

          होम आइसोलेसनबाट निस्किएपछि म पनि बस्छु । यो मेरो जीवनकै सबैभन्दा ठूलो परिघट्ना हुनसक्छ ।’ चाम्लिङलाई मातृशोक परेको विषयमा नेकपा तथा अन्य दलका नेता तथा कार्यकर्ताले समवेदना व्यक्त गरिरहेका छन् ।

          होम आइसोलेसनमा बसेको अवस्थामा आमाको शारीरिक अवस्था शिथिल हुँदैगएको अवस्थामा पनि भेट गर्न नपाएको विषयमा जिसस प्रमुख चाम्लिङले आइतबार मार्मिक स्टाटस लेखेका थिए । ‘के गर्ने आमा ! संक्रमणका कारण म तपाईलाई भेट्न असमर्थछु । आमा ! माफ गरिदिनोस ल । राम्ररी खाना खान छड्नुभएको त असारदेखिकै हो, त्यसैले कार्यालयमा भन्दा घरमा समय दिन थालेको थिएँ,’ चाम्लिङले लेखेका थिए, ‘तर म आइसोलेसनमा हिँडेपछि आज दिउसो जानकारी पाएँ, तपाई शिथिल हुँदै जानुभएको छ । झोलिलो पदार्थ पनि मुस्किलले निल्दै हुनुहुन्छ रे, सायद इसाराले हामी छोरा बुहारीकै खोजी गरिरहनुभएको छ । मेरो पुकार सुन्ने कोही छ भने बिन्ती गर्छु कि कोरोना जितेर घर गइ आमासँग भेट होस् उहाँको काखमा एक छिन लुटपुटिएर आशिरवाद लिन पाउँ ।’

          यस्तै, नेकपा खोटाङका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख जलसेर राईलाई पनि मातृशोक परेको छ । विक्रम सम्बत १९८९ साल मंसिर २२ गते जन्मिएकी आमा आशा राईको कात्तिक १४ गते साँझ साँढे ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफ्नै निवासमा निधन भएको नेकपाका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख राईले बताए । दिवंगत आशाका तीन छोरा र दुई छोरी छन् ।

     

    सम्बन्धित समाचार