सोमवार, कार्तिक १७ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक १७, दुई जना कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २१ जनाको स्वाव संकलन गरेर परिक्षणमा पठाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना संक्रमण पूष्टी भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा २१ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।
संक्रमतिको सम्पर्कमा पुगिसकेका व्यक्तीमा संक्रमण भए/नभएको निश्चित गर्नका लागि सोमबार स्वाव संकलन गरेर बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए । कोरोना संक्रमित फेला परेपछि हलेसी तुवाचुङ नगरपालिकाले बजार तथा कार्यालय सिल गरिसकेको छ ।
विशेषगरी मध्यपहाडी लोकमार्ग आसपासमा बढि भिडभाड हुने बजार तथा नगरपालिकाभित्रका सरकारी तथा गैर–सरकारी कार्यालय हप्ता दिनका लागि सिल गरिएको हो । संक्रमित व्यक्तीको सम्पर्कमा पुगिसकेका व्यक्तीलाई १४ दिन होम क्वारेन्टीनमा बसाउने, आगामी कात्तिक २२ गतेसम्म मध्यपहाडी लोकमार्ग आसपासमा पर्ने जयरामघाट, दुर्छिमको छापडाँडा, हलेसीबजार, अर्खौले, विजुले तथा सगरमाथा राजमार्गमा पर्ने रेग्मीटारदेखि राजापानीबिचका होटल, खाजा घर, हार्डवेयर पसल, सवारी साधन मर्मत स्थल लगायत बन्द गर्ने निर्णय गरिएको मेयर इवन राईले बताए । कोरोना संक्रमण दर थप फैलिन नदिनका लागि नगरपालिकाको कार्यालय, नगरपालिकाभित्र सञ्चालित सरकारी तथा गैर–सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतको सेवा हप्ता दिनका लागि बन्द गराइएको हो ।
यस्तै, यस अवघिमा सामुहिकरुपमा खेलिने खेलकुदका गतिविधिमा रोक लगाउनुका साथै अनावश्यक रुपमा भेला नहुन/नगर्न आग्रह गरिएको छ । सिल अवधिमा खाद्य तथा किराना पसल प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । कोरोना संक्रमण दर बढ्दैगएको अवस्थामा नगरपालिकाले अनावश्यक काममा घर बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ ।
व्यापारिक केन्द्र तथा कार्यालय बन्द गरिए पनि स्वास्थ्य संस्था एबं मेडिकल भने २४ घण्टा नै खुला रहने नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या ६ पुगेको छ ।
हलेसी परिषरमा आवागमनमा रोक
कोरोना संक्रमित फेला परेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीर परिषरमा आवागमनमा रोक लगाइएको छ । सोही वडामा दुई जनालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले त्रि–धार्मिकस्थल हलेसी परिषरमा हुने आवागमनमा रोक लगाएको हो ।