बुधवार, कार्तिक २६ २०७७
नेपाल वाइड
खोटाङ । कात्तिक २६, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई बीउ तथा कृषि सामग्री वितरण सुरु गरिएको छ । नगरपालिकाको आग्रहमा जिवीकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडिसि)को सहयोगमा किसानलाई कृषि सामग्री तथा बीउ वितरण सुरु गरिएको हो ।
कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई हिल ट्यांक, प्लाष्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउविजन वितरण सुरु गरिएको मेयर इवन राईले बताए ।
गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा एसडिसिले ४ हजार ५३ घर किसानलाई २ करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलव्ध गराएको हो ।
पानी संकलन गर्नका लागि हिल ट्यांक, तरकारी खेतीका लागि प्लाष्टिक टनेल लगायतका कृषि सामग्री उपलव्ध गराइएको हो । किसानले रोजेको कृषि सामग्री उपलव्ध गराउने व्यवस्था मिलाइएको मेयर राईले बताए । एसडिसिले उपलव्ध गराएको कृषि तथा बीउ विजन हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबाट वितरण सुरु गरिएको छ ।
मंगलबार अर्खौैलेका ३२५ जना किसानलाई प्रदेश नम्बर १ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे, मेयर राई, उपमेयर विमला राई लगायतले कृषि सामग्रीका साथमा बीउविजन वितरण गरेका छन् ।
एसडिसिले उपलव्ध गराएको कृषि सामग्री तथा बिउ क्रमशः ११ वटै वडाका किसानलाई वितरण गर्ने तयारी गरिएको छ । बाहुनीडाँडाका ३९४, डिकुवाका ३८०, च्यास्मिटारका ३९७, वडहरेका २८८, दुर्छिमका ४५४, मंगलटारका ३४०, महादेवस्थानका ३३३, धितुङका ३४५, सल्लेका २१६ र राजापानीका ५८१ जना कृषकलाई कृषि सामग्रीका साथमा बीउबिजन वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘गत वर्षको खाद्य संकटको समयमा हामीले संघीय सरकार, प्रदेश सरकार र एसडिसिलाई सहयोगका लागि आग्रह गरेका थियौँ, सोही आधारमा हामीलाई एसडिसिबाट सहयोग प्राप्त भएको हो,’ मेयर राईले भने, ‘तर हामीलाई संघीय सरकार र प्रदेश सरकारबाट सहयोग प्राप्त भएन ।’