बिहिवार, कार्तिक २७ २०७७
नेपाल वाइड
खोटाङ । महिलाको आयआर्जनमा टेवा पुर्याउनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’ सुरु गरिएको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि सहयोग पुर्याउन वडा कार्यालयले ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’ सुरु गरेको हो ।
वडाका ‘एक आमालाई एक वटा बाख्रा वा सुँगुर’ उपलव्ध गराउने लक्ष्यकासाथ वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ५० हजार बिनियोजन गरेको थियो । विनियोजन गरिएको बजेटबाट पहिलो चरणमा वडाका २७ जना आमालाई बाख्रा र सुँगुर वितरण गरिएको वडाध्यक्ष रमेश राउतले बताए ।
विषेगरी विपन्न, एकल महिला र दलित केन्द्रित कार्यक्रम अन्तरगत २३ जना महिलालाई बाख्रा र ४ जना महिलालाई सुँगुरको माउ पाल्नका लागि पाठो वितरण गरिएको छ । कार्यक्रममा क्रमशः वडाका हरेक घरलाई समेट्दै लैजाने वडा कार्यालयको तयारी छ । चालु आर्थिक वर्ष ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’का लागि २ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष राउतले बताए ।
नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत मंगलटारमा स्थापना गरिएको महिला कृषि सहकारीसँग जोड्नेगरी महिलालाई इच्छा अनुशार बाख्रा वा सुँगुर वितरण सुरु गरिएको हो । ‘विपन्न, एकल महिला र दलितलाई आर्थिकरुपमा आत्मनिर्भर बन्न उत्प्रेरित गर्न बाख्रा तथा सुँगुर पेवा कार्यक्रम सुरु गरिएको हो,’ वडाध्यक्ष राउतले भने, ‘बाख्रा र सुँगुरबाट आएको आम्दानीलाई सहकारीमार्फत कारोबार गर्ने वातावरण बनाउने वडा कार्यालयको लक्ष्य हो ।
यस कार्यक्रममा वडाका सबै परिवारलाई समेट्ने हाम्रो प्रयास रहने छ ।’ चालु आर्थिक वर्ष करिब ४० जना आमालाई बाख्रा वा सुँगुर वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।
आगामी माघ–फागुनमा महिलालाई रोज्न लगाएर बाख्रा वा सुँगुर वितरण गरिने वडाध्यक्ष राउतले बताए । गत वर्ष एकल महिलालाई बाख्रा वितरण गरेको वडा कार्यालयले ‘बाख्रा तथा सुँगुर पेवा कार्यक्रम’ पनि कार्यान्वयनमा ल्याएको हो ।