शुक्रवार, मंसिर ५ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ५, खोटाङका व्यवसायी राजेन्द्र लयालुलाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित गराउनका लागि चुनावी अभियान तिव्र पारिएको छ । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने वाणिज्य महासंघको अधिबेसन तथा निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका लयालुलाई निर्वाचित गराउनका लागि उद्योग बाणिज्य संघले शुक्रबार चुनावी अभियान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
बाणिज्य संघले होटल इन्द्रेणीमा कार्यक्रम गरेर चुनावी अभियानलाई संस्थागतरुपमा तिव्र पारेको जानकारी दिएको छ । कार्यक्रममा बाणिज्य संघका पदाधिकारी एबं सदस्यले लयालुलाई फूलमाला, खादा र अविर लगाइलिएर विजयका लागि अग्रिम शुभकामना दिएका छन् ।
लयालुले जिल्ला नगर उद्योग बाणिज्य संघकातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । सामाजिक व्यक्तीत्वको छवी बनाएका लयालु खोटाङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । केन्द्रीय सदस्यका उम्मेद्वार लयालुले सामाजिक सञ्जालमार्फत महिनौं अघिदेखि चुनावी प्रचार–प्रसार गर्दै आएका छन् ।
वाणिज्य महासंघको अधिबेसन तथा निर्वाचन नजिकिँदैगर्दा लयालुका शुभेच्छुक तथा समर्थकले समेत सामाजिक सञ्जालमार्फत ‘राजेन्द्र लयालु जिताऔं’ अभियान चलाइरहेका छन् । निजी क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै समय सापेक्षा बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिइएको लयालुले बताए ।

चुनावी अभियान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेद्वार राजेन्द्र लयालु