Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    यलम्वर संगीत प्रतियोगिता

    यलम्वर संगीत प्रतियोगिताका टप १० प्रतियोगी छनौट

    यलम्वर संगीत प्रतियोगिताका टप १० प्रतियोगी छनौट


    • शनिवार, मंसिर ६ २०७७

    • नेपाल वाइड


    यलम्वर संगीत प्रतियोगिताका टप १० प्रतियोगी छनौट
    सांकेतिक तस्बिर

           खोटाङ । मंसिर ६, यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका टप टेन प्रतियोगी छानिएका छन् । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगीताबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी छानिएका हुन् ।

          शनिबार भएको छनौट प्रतियोगीताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलीमा साम्पाङ राई चयन भएका छन् । विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट क्रमशः पहिलो, दोश्रो र तेश्रो हुँदै चौथो चरणमा १० जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए ।

        प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराइने व्यवस्था मिलाइएको छ । सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ ।

        प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए । प्रतियोगीताको फाईनल प्रतियोगीता तीन हप्तापछि हुने आयोजकले जनाएको छ ।

        किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् ।

        प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागीता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड छ ।

    विजेतालाई हङकङ जाने अवशर

        यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवशर पाउने भएका छन् । हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो ।

        यलम्वर संगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक थुलुङले वताए ।

    सम्बन्धित समाचार