आइतवार, मंसिर ७ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ७, खोटाङको सालपा विकास बैंकलाई जिल्लाबाट सबैभन्दा बढि कर दाखिला गर्ने करदाताकारुपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा खोटाङबाट सबैभन्दा बढि कर दाखिला गरेकामा सालपा विकास बैंकलाई आन्तरिक राजस्व कार्यालय लहानले कदर स्वरुप सम्मान गरेको हो ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: विकास, संवृद्धि र सुशासन’ भन्ने नारासहित करदाता सेवा कार्यालय खोटाङले आयोजना गरेको ९ औं राष्ट्रिय कर दिवस समापन कार्यक्रमको अवशरमा सालपा विकास बैंकलाई सम्मान गरिएको हो ।
करदाता सेवा कार्यालयको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सालपा विकास बैंकका विभागीय प्रमुख दिपकर राईलाई सम्मान–पत्र प्रदान गरेका छन् ।
विगतका वर्ष विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाउने गरिएकामा यस वर्ष कोभिड–१९ को महामारीका कारण धुमधामका साथ कार्यक्रम गर्न नसकिएको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले बताए । कोरोना महामारीका कारण यसपल्ट सञ्चार माध्यमबाट सूचना तथा शुभकामना सम्प्रेषण, फोनमार्फत सरोकारवालासँग अन्तरक्रीया मात्र गरिएको करदाता सेवा कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले ‘करलाई रहर’ बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । पौडेलले सवैभन्दा बढि कर तिर्नेलाई भन्दा पनि आफ्नो आयव्याय विवरण नलुकाई पारदर्शीढंगले ट्याक्स तिर्ने करदातालाई समेत प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल अडिटर्स एसोसियसनका जिल्ला अध्यक्ष डोरनाथ आचार्य, सालपा विकास बैंकका विभागीय प्रमुख राई लगायतले शुभकामना दिएका थिए । दिक्तेलमा २०७५ साल चैत २८ गतेदेखि करदाता सेवा कार्यालयले सेवा सुरु गरेको हो ।
जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ को लहान पुग्नुपर्ने बाध्यता हटेको छ । कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दैआएको छ ।