सोमवार, मंसिर ८ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर ८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ४९ जना किसानलाई बोयर तथा खरि जातको बाख्रा वितरण गरेको छ । स्वीस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एबं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा गाउँपालिकाले अतिविपन्न तथा सिमान्तकृत समुदायका महिला, कोरोना भाइरसका कारण रोजगार गुमाएर विदेशबाट फर्किएका युवा तथा गाउँमै व्यवसायीकरुपमा बाख्रा पालनमा क्रियासिल बाख्रा पालक किसानलाई १८९ वटा बोका तथा बाख्रा वितरण गरेको हो ।
व्यवसायीक रुपमा बाख्रा पालन गरिरहेका दुई जना किसानलाई एक/एक वटा सतप्रतिशत शुद्धता भएको बोयर बोका, सात जना किसानलाई एक/एक वटाका दरले ५० प्रतिशत बोयर बोका, बाख्रा पालनमा मेहनत गरिरहेका ३० जना अतिविपन्न तथा सिमान्तकृत महिलालाई जनही चार वटाका दरले १२० वटा खरि जातको बाख्रा र कोभिड–१९ का कारण बैदेसिक रोजगार गुमाएका १० जना युवालाई जनही पाँच वटाका दरले ५० वटा खरि बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले आइतबार किसानलाई बोका तथा बाख्रा वितरण गरेका हुन् । रोजगार गुमाएर फर्किएका युवालाई व्यवसायीक बाख्रा पालनतर्फ प्रोत्साहित गर्नका लागि गाउँपालिकाले प्राथमिकताका साथ बाख्रा वितरण गरेको हो ।
यस्तै, गत आर्थिक वर्ष बाख्रा वितरण गरिएकामध्ये हाल खोर बनाएर व्यवसायीकरुपमा बाख्रा पालन गरिरहेका विपन्न तथा सिमान्तकृत महिलालाई थप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ७ वडा रहेको गाउँपालिकाभरीका किसानले उपयोग गर्न पाउनेगरी याम्खाका किसान रामनिधि आचार्य र डाँडागाउँका किसान शम्भु कार्कीलाई शतप्रतिशत बोयर जातको बोका वितरण गरिएको छ ।
यस्तै, गाउँपालिकाका ७ वडामा एक/एक वटा पुग्नेगरी दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका किसान दिनेश विष्ट, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ का अजम्बर राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका मन्दिप बस्नेत, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका मछिन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ध्रुव थापा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका नारायण खत्री र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका कैलाश बुढाथोकीलाई ५० प्रतिशत बोयर बोका वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँपालिकाले प्रस्ताव आव्हान गरेपछि खरी जातको बाख्रा पालनका लागि ४३ जना र बोयर जातको बोकाका लागि ३० जना किसानको आवेदन परेको थियो । खरी जातको बाख्रा तथा प्रजननयोग्य बोयर जातको बोका खरिदका लागि गाउँपालिकाले गत कात्तिक ३ गते आपुर्तीकर्ता, कृषि सहकारी, व्यवसायीक कृषि तथा पशुपालन फर्मलाई सिलवन्दी दरभाउ बुझाउन सूचना जारी गरेको थियो ।
नेपाल कृषि सेवा विकास कार्यक्रमसँगको साझेदारीमा गाउँपालिकाले कुटानी पिसानीका लागि घण्टौं धाउन बाध्य किसानलाई तीन वटा मिल, सुन्तला, लिची, कागती जस्ता पकेट क्षेत्रका किसानलाई ६ सय वटा क्यारेट र धान काट्ने ७ वटा मेसिन प्रदान गरेको छ ।