बिहिवार, मंसिर १८ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङका चार स्थानीय तहमा अस्पताल स्थापनाका लागि भवन शिलान्यास गरिएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको तथा रावाबेँसी गाउँपालिकामा १० शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा निर्माण गरिने अस्पतालको भवन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले, ऐसेलुखर्क गाउँपालिकामा निर्माण गरिने अस्पताल भवन प्रदेशसभा सांसद राजन राईले र जन्तेढुंगामा निर्माण गरिने अस्पताल भवन रामकुमार राई पासाङले शिलान्यास गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापनाका लागि नेपाल सरकारले सम्वन्धित स्थानीय तहलाई ३ करोड २३ लाख ३० हजार बजेट निकासा दिइसकेको छ । कुल १८ करोड ६ लाख ८२ हजारको सिमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नु पर्ने शर्तमा अस्पतालको भवन शिलान्यास गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यस्तै, १० शैयाको अस्पताल निर्माणका लागि रावाबेँसी गाउँपालिकामा ८५ लाखको अख्तियारी आएको छ ।
रावाबेँसीमा १० करोड ८३ लाख ३६ हजार खर्चमा स्वास्थ्यचौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्नेगरी काम सुरु गरिएको छ । अस्पताल भवनको डिपिआर तयार पार्ने, टेण्डर आव्हान गर्ने र भवन निर्माण गर्नका लागि स्थानीय तहलाई नेपाल सरकारले भवनको नक्सा पठाएको छ ।
जिल्लाको केपीलासगढी गाउँपालिकामा पनि १५ शैयाको अस्पताल स्थापना गर्ने तयारी छ । यस्तै, साकेला गाउँपालिकाको रतन्छा स्वास्थ्यचौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने तयारी छ । स्वास्थ्यचौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नतीका लागि सरकारले ७ करोड ११ लाख ९८ उपलव्ध गराउने जनाइएको छ ।
तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल
कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै खोटाङका तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको छ । संघीय सरकारले उपलव्ध गराएको १० लाख र सम्वन्धित स्थानीय तहको खर्चमा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा ५ बेडको अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।
कोरोना भाइरसको संक्रमण दर फैलिएर भयवह स्थिति निम्तिएको अवस्थामा नागरिकको गाउँमै सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । एक जना एमविविएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी लगायतका जनशक्ती व्यवस्था गरेर तीन गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सुरु गरिएको हो ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा यसअघि नै अस्थायी कोभिड अस्पताल सुरु गरिसकिएको छ । स्थानीय तहमा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल स्थापना गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।