शुक्रवार, मंसिर १९ २०७७
नेपाल वाइड
खोटाङ । मंसिर १९, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ११ वटा प्रस्तावित माबिलाई स्वीकृत माबिमा स्तरोन्नती गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माबिकारुपमा सञ्चालनमा रहेको शान्ति माबि छोरम्बु, सरस्वती माबि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन माबि इजारा बतासे, शान्ति निकेतन मिनाकर्ण माबि सापातेल छोरम्बु, शान्ति माबि टेम्मा, पञ्चौशिका माबि भण्डारेघाट बतासे, महेन्द्रोद्धय माबि याम्खा, धिप्लुङ माबि सेम्मा छितापोखरी, जनसेवा माबि दिहुँ छितापोखरी, सरस्वती माबि कुलागाउँ सछितापोखरी र याङसोला माबि छोरम्बुलाई माबिमा स्तरोन्नती गरेको हो ।
हालसम्म माबि तहको पठन–पाठन हुँदैआएको तर माबि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माबिलाई माबिमा रुपान्तरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
गत वर्ष पञ्चकौशिका आधारभुत बिद्यालयलाई माबि तहको पठन–पाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माबिलाई माबिमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । ७ वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय माबि ओख्रे डाँडागाउँ, कृष्ण माबि टेम्मा र जनता माबि भण्डारीडाँडा बतासे मात्र स्थायी माबि थियो ।
माबिमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठन–पाठन सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ती गरिने गाउँपालिकाले जनाएको छ ।