Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव न्यून भो’

    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव न्यून भो’


    • शुक्रवार, मंसिर १९ २०७७

    • नेपाल वाइड


    ‘बाल विकास केन्द्रमा कार्यरत शिक्षकको तलव न्यून भो’
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय ।

           खोटाङ, मंसिर १९– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कार्यरत प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले समय सापेक्षित रुपमा तलव वृद्धिको माग गरेका छन् । हाल सरकारले उपलव्ध गराउँदै आएको तलव अत्यान्तै न्यून भएको भन्दै प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत वालबिकास शिक्षक संगठनले खुला पत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

          सरकारले श्रमिकको ज्याला समेत १३ हजार ४५० तोकेको अवस्थामा वालबिकास शिक्षकलाई दिइएको मासिक ६ हजार रुपैयाँ तलव समय सापेक्ष नभएको खुला पत्रमा उल्लेख छ । वालबिकास शिक्षकले दिर्घकालिन रुपमा संघीय शिक्षा ऐनमार्फत आफ्नो पेशागत स्थायीत्व हुने व्यवस्था मिलाउन गाउँपालिका समक्ष माग गरेका छन् ।

          ‘श्रमिकको ज्याला समेत १३ हजार ४५० तोकिएको अवस्थामा स–साना वालिकाको भविष्यको जग निर्माण गर्ने जिम्मेवारी लिएका वालविकास शिक्षकलाई मासिक ६ हजार दिनुको के समय सान्दर्भिक छ ?,’ खुला पत्रमा भनिएको छ, ‘तसर्थ वालबिकास शिक्षकको तत्काल समय सुहाउँदो तलव भत्ता व्यवस्थापन गर्न र दिर्घकालिन रुपमा संघीय शिक्षा ऐनमार्फत पेशागत स्थायीत्व हुनेगरी व्यवस्था मिलाउन माग गर्दछौँ ।’

         ७ वडा रहेको गाउँपालिका आफैले पनि १३ जना वालविकास शिक्षक नियुक्त गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले वालविकास शिक्षकलाई तलव बढाउने तयारी गरिरहेकाबेला कोभिड–१९ को महामारी सुरु भएकाले आगामी आर्थिक वर्षबाट तलव वृद्धि गरिने बताए । ‘वालविकास शिक्षकको तलव बढाउने तयारी गरेका थियौं तर कोभिड सुरु भएपछि कोभिडमै खर्च गर्नुपर्‍याे,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘मासिक ६ हजार भनेको शिक्षकको अवमूल्यान नै हो । आगामी वर्षदेखि श्रमको उचित सम्मान हुने व्यवस्था हुने छ ।’

        २०७६ साल कात्तिकमा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले पनि तलव वृद्धिको माग गरेका थिए । हाल राज्यले उपलव्ध गराउँदै आएको सेवा सुविधा काम भएको भन्दै बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले संघीय सरकारले अर्को व्यवस्था नगरेम्मका लागि प्राथमिक शिक्षक सरहको तलव व्यवस्था गर्न माग गरेका थिए । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा प्रत्येक सहयोगी कार्याकर्तालाई मासिक एक हजार खाजा भत्ता दिने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।


    सम्बन्धित समाचार